रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गका अनुसार आइतबार दिउँसो ३ः३० बजे चन्द्रपुर–४ बाट ३२ वर्षीय तुल बहादुर लामालाई शंकास्पद अवस्थामा पक्राउ गरिएको थियो । खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग हुने सामग्री बरामद भएको प्रहरीले जनाएको छ
सोधपुछका क्रममा खुलेको तथ्यका आधारमा प्रहरीले चन्द्रपुर–४ स्थित गणेश चोकमा डेरा गरी बस्ने २३ वर्षीया प्रिया तामाङ र ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई पनि पक्राउ गरेको छ । उनीहरूको कोठाबाट ब्राउन सुगर तौलने मेसिन र प्याकेजिङ सामग्री बरामद गरिएको छ ।
यसैगरी, सोही साँझ चन्द्रपुर–१ स्थित अमृत घिसिङको घरबाट २९ वर्षीय प्रशान्त तामाङलाई पक्राउ गरिएको छ । उनको साथबाट २४० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनामाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।




