काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा ले दोस्रो कार्यकालको ट्रम्प प्रशासन अन्तर्गतको अमेरिकी राजनीतिलाई ’क्लाउन शो’ (तमासा) को संज्ञा दिएका छन् । एक अन्तर्वार्ताका क्रममा ओबामाले ह्वाइट हाउसबाट भइरहेका पछिल्ला अभिव्यक्तिहरूले बहुसंख्यक अमेरिकीहरूलाई चिन्तित बनाएको बताए ।
ब्रायन टाइलर कोहेनको ‘नो लाइ’ पोडकास्ट मा शनिबार कुरा गर्दै ओबामाले राष्ट्रपति ट्रम्पको ’टुथ सोसल’ अकाउन्ट मा हालै पोष्ट गरिएको विवादास्पद भिडियोप्रति कडा आपत्ति जनाएका हुन् । उक्त भिडियोमा पूर्व राष्ट्रपति ओबामा र पूर्व प्रथम महिला मिसेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको थियो ।
दुवै पक्षका राजनीतिक दलहरूबाट आलोचना भएतापनि ट्रम्पले माफी माग्न अस्वीकार गरेका छन् । ह्वाइट हाउसले भने उक्त सामग्री कर्मचारीको ‘त्रुटिपूर्ण’ कार्यका कारण पोष्ट भएको दाबी गर्दै केही समयपछि हटाएको थियो ।
ओबामाले भने, “मलाई लाग्छ कि बहुसंख्यक अमेरिकी जनताले यस्तो व्यवहारलाई गहिरो रूपमा विचलित पार्ने खालको ठानेका छन् भन्ने कुरा चिन्नु महत्त्वपूर्ण छ।”
उनी थप्छन्, “सामाजिक सञ्जाल र टेलिभिजनमा अहिले एक प्रकारको तमासा चलिरहेको छ। पहिले पदको मर्यादा र सम्मान हुनुपर्छ भन्ने ठान्ने मानिसहरूमा अहिले कुनै लज्जाबोध देखिएको छैन। त्यो मर्यादा अहिले हराएको छ।”
ओबामा रिपब्लिकन पार्टीको आलोचना गर्दै भन्छन्, “उनीहरूले अध्यागमन एजेन्डामा ठूलो रकम खन्याएका छन्, धनी मानिसहरूको कर कटौती गरेका छन् र अहिले स्थापित नियम, मान्यता र कानुनहरू उल्ट्याउन खोज्दैछन्।”
आफ्नो कार्यकाल सम्झँदै ओबामाले भने, “जब म राष्ट्रपति थिएँ, मैले पनि मलाई भोट नदिने राज्यहरूको कोष रोक्ने वा गभर्नरहरूलाई धम्क्याउन सेना पठाउने आदेश दिन सक्थें। तर त्यो हाम्रो लोकतन्त्रको तरिका विपरीत हुन्छ।”
