काठमाडौँ – माघ २५ गतेदेखि सम्पर्कविहीन रहेका ४० वर्षीय निरेन काफ्ले मृत अवस्थामा फेला परेका छन्। परिवारले माघ २६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।
खोजीका क्रममा प्रहरीले ड्रोन क्यामेरा प्रयोग गरेको थियो। ड्रोन अपरेटर टार्जन लिम्बुले टीकाभैरव र माल्टागाउँ जोडिने ठूलो खोचको भीरमा गाडी अडकिएको देखेका थिए।
उनी भन्छन्, ‘ड्रोनबाट हेर्दा सडकभन्दा ३०० मिटर तल भीरमा गाडी खसेको देखें।’
प्रहरीका अनुसार काफ्लेको गाडी करिब ३०० मिटर तल भीरमा खसेको अवस्थामा फेला परेको हो। फागुन १ गते ड्रोनमार्फत दुर्घटनास्थल पत्ता लाग्यो र हाल शव परिवारले बुझिसकेको, तर गाडी दुर्घटना स्थलमै रहेको छ।
नेपालमा ड्रोन प्रयोगबाट खोजी, निगरानी र अन्य कार्य तीव्र गतिमा अगाडि बढाउन सकिने देखिएको छ। सरकारले ड्रोन सम्बन्धी कार्यविधि (अनम्यान्डेड एरियल भेइकल फ्लाइट प्रोसेड्युर) जारी गरेर पूर्व अनुमति आवश्यक बनाएको छ।

पूर्व स्वीकृतीबिना ड्रोन प्रयोग गर्दा नागरिक उड्डयन प्राधिकरण ऐन र विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने प्रावधान छ।
सही नीति, नियम र योजनाका बलमा नयाँ प्रविधीको बढी प्रयोग गरेर देशलाई द्रुत गतिमा अघि बढाउन सम्भव छ। तर, सरकारले ड्रोनप्रतिको नीति तथा व्यवस्थामा सुधार गर्नु आवश्यक देखिएको छ।

