युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मेरो घर बाहिर अलिपर एउटा दूध डेरी छ। त्यसछेउ रहेको गल्लीमा कच्याक-कुचुक परेको एउटा चोक छ। त्यहाँ ६ वटा कुकुर बस्छन्। खरानी रङ्गको सिमेन्टको घरमा टाँसिएर बस्ने ती कुकुरहरू कहिलेकाहीं त्यही घरको भित्तामा नै बिलाउँछन्। झन् बाटोमा हिंड्ने बटुवाले त उनीहरूलाई देख्दै देख्दैनन्।

कहिलेकाहीं खाना पाइहालेछन् भने फुत्रुक्क उफ्रेर निस्किन्छन्। अनि बटुवालाई ढ्याप्पा गर्दिन्छन्। आबुई ! भनेर ती बटुवाले कहिले ढुङ्गा टिप्छन्, कहिले चप्पल !

यी कुकुरले मलाई ढुङ्गा र चप्पल झट्टी हान्न खोज्ने मान्छेको अवतारमा मलाई देख्न पाएका छैनन्। म तिनीहरूको अस्तित्व केही कुकुरको रूपमा खरानी रङ्गका भित्तेबुट्टामा हराएको देख्न चाहन्नँ। मेरा लागि उनीहरू खैरे, आमा, चमचम, सीता, गीता, बजु र कालु हुन्। म उनीहरूमा श्वास फेरिरहेको, भोक, प्यास, पीर, माया जस्ता भावनाहरू अनुभव गर्न सक्ने जीवन्त आत्मा देख्दछु।

उनीहरूले पनि मेरो अनुहारमा कहिले बिस्कुट, कहिले भात र कहिले पानीको कचौरा देख्छन् होला। नत्र देख्छन् होला- मनमा अटाउन नसक्ने माया।

टोलका मानिसहरूलाई पनि मेरो र ती कुकुरको साइनोबारे राम्ररी थाहा छ। त्यही भएर तिनीहरू बिरामी भए भने मलाई फोन आइहाल्छ। त्यस्तै एक बिहान मलाई फोनमा ‘बजुलाई कसैले टाउकोमा कुट्यो’ भन्ने सूचना आयो।

सूचना पाउनासाथ म त्यहाँ पुगें। नभन्दै एउटा आँखा निस्किने गरेर रडले हानेको रहेछ। बोकेर काखमा राखें। अस्पताल जाँदा बाटोलाई घर बनाइरहेका, फ्यालिएको फोहोरमा खाना खोजिरहेका, गाडीलाई झुक्याएर बाटो काट्न लागिरहेका, पिटिएका, मारिएका अनगिन्ती कुकुरहरूतिर मेरो ध्यान गयो। गल्ली गल्ली भौंतारिरहेका, केवल अलिकति खान, ओत र माया पर्खिरहेका अवोध प्राणीहरू !

मान्छेको जात, ३६४ दिन पिट्दै कुट्दै अपहेलना र छिछि दूरदूर गर्दै हिंड्छन्। अनि फेरि कुकुर तिहारमा तिनै कुकुरलाई खोजेर, पर्खेर माला, अबिर, मिठा खाना खुवाउँदै आफ्नो हिन्दुत्व र आध्यात्मिक चिन्तनका जीवन्त उदाहरण दिन खोजिरहेका मानिसहरू सम्झिएर मन टोलायो। भैरवको वाहनको रूपमा पुजिने यी जीवलाई कहिले तातो पानी र कहिले एसिड छ्याप्दा त्यो पग्लिरहेको छालालाई भैरवले पनि सञ्चो गर्न सकेनन्। धर्म, संस्कृतिसँग जोडिएका हरेक पर्वमा जनावरको भूमिका र खासगरी विश्वव्यापी रूपमा चिनिएको खिचा पूजा वा कुकुर पूजाको मर्म त्यही एकदिनमा नै सकिन्छन् !

युधिष्ठिर स्वर्ग पस्न लाग्दा सँगै कुकुर पनि छिरेको जस्ता धेरै किंवदन्ती भएतापनि व्यवहार र बोलीमा कुकुरलाई गाली नै मान्ने मानिसको नियत र सोचाइलाई म कसरी विश्लेषण गरौं ?

कुलेश्वरको एउटा कारखानामा लुकाएर राखेका आफ्ना छाउराको निम्ति खाना खोज्न जाँदा नजिकको पसलेले फलामको रडले हानेर दुईवटै आँखा निकालिदिएर मारेको घटना सम्झिएँ। मेरो काखमा काँपिरहेको बजुलाई हेर्दा मन स्तब्ध भयो। बालुवाटारमा राष्ट्र बैंकको अगाडि प्रहरीले पहिले गोली अनि पछि बाँसको लट्ठीले टाउकोमा हानेर मारेको कुकुरलाई पनि याद गरें।

कुकुरहरूले वर्षौं अगाडि हामीलाई साथ नदिएका भए आजको स्थितिसम्म पुग्नको लागि मानिसलाई कति समय लाग्दथ्यो, के थाहा ?

म बाफलमा बस्दा टेलिफोनको तारले झुन्ड्याएर मेरो घरको गेट अघि फ्यालिएको भुन्टे पनि मेरो मन भित्रको पीडासहित बाहिर निस्क्यो। मेरो गाउँको घर भित्रै आएर साना बच्चाहरूले ढुङ्गा हानी थिचिएका पाँच महिना उमेरका भोटु, माया र ज्याकीलाई पनि मनमनै सुम्सुमाएँ। केही महिना दिन अघि मात्र बनेपामा पोलमा बाँधेर कुटेर मारिएको खैरेलाई प्रशासनले दिन नसकेको न्यायले मन पोल्यो।

यस्तै कुरा सोच्दै बजुलाई डाक्टरकोमा पुर्‍याएँ। उपचारको प्रबन्ध मिलाएर ‘भोलि आउँछु है’ भन्दै घरतिर लागें।

भैंसेपाटीतिर जाँदा खेतमा काम गरिरहेका मानिसतर्फ ध्यान गयो। करिब ११ हजार वर्षअघि मानिस र ब्वाँसोको बीच एकप्रकारको लेनदेनको सम्बन्ध गाँसियो। जंगली जनावरलाई टाढा राख्न र सिकारमा सघाउने कामको जिम्मा ब्वाँसोको थियो भने खाना र आगोको न्यानोपन बाँड्ने काम मान्छेको।

समय बित्दै जाँदा सो लेनदेनको सम्बन्ध मित्रतामा परिणत भयो। यो सम्बन्धले मानिसको सभ्यतालाई अर्को फड्को लिन मद्दत गर्‍यो। खेतीपाती शुरु हुँदा पशुपालन गर्न सकिएको यी कुकुरहरूको गाई, घोडालगायतका बस्तुभाउलाई जम्मा गरेर एकठाउँमा ल्याउन सक्ने सीपसँग जोडिएकोले नै हो।

कुकुरले वर्षौं अगाडि हामीलाई साथ नदिएका भए आजको स्थितिसम्म पुग्नको लागि मानिसलाई कति समय लाग्दथ्यो, के थाहा ?

मानिसको स्वभाव र बानी गन बिर्सिने संस्कारसँग जोडिएको छ। सर्वोत्कृष्ट प्राणी आफूलाई नै ठान्ने होडबाजीमा आफ्नो सबैभन्दा पुरानो साथीलाई बिर्सिनु त कुनै अचम्मको कुरा होइन। तर अहिले पनि केही मानिस छन् यो सम्बन्धको पालाको पैंचो तिर्न खोजिरहेका। हाम्रो डीएनए मेमोरीमा नै शायद हाम्रो र कुकुरको सम्बन्धको छाप भएको हुनाले वर्षौंको अभियान र अध्ययन पछि नेपालको कानुनमा कुकुरलगायत केही जनावरको सुरक्षाका केही बुँदाहरू समावेश गराइए। ‘मुलुक अपराध संहिता ऐन’ अनुसार आफूले पालेका पशुपन्छी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक ठाउँमा छाड्न वा बाटोका पशुप्रति निर्दयी व्यवहार देखाउन अथवा अरु कुनै क्रूर क्रियाकलाप गरिएको खण्डमा, सो बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने भनिएको छ। खासमा भन्ने हो भने यति सजाय आफैंमा पूरा त छैन तर, कुकुरहरू जस्ता जीवका लागि यो कदम पनि सराहनीय छ।

तर कुनै पनि कानुन, चाहे त्यो कति नै कडा किन नहोस्, कार्यान्वयन भएन भने त्यस्ता कानुनको महत्व हुँदैन। प्रहरी प्रशासन र न्याय प्रणालीको मुख्य काम नै उत्पीडनमा परेका र कानुनले संरक्षण दिएका प्राणीहरूको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु नै हो।

बनेपामा खैरे नामक कुकुरलाई मार्ने अपराधीलाई सबूत भएतापनि नपक्रिने प्रहरी प्रशासन होइन कि सुर्खेतमा झुन्ड्याएर मारिएकी कालीको हत्या गर्नेलाई थुनामा राख्ने प्रशासनको आवश्यकता छ। जबसम्म जारी भएका कानुनको रक्षा गरेर न्याय प्रणालीलाई सुदृढ गरिंदैन, तबसम्म स्थानीय निकायको विश्वसनीयता माथि प्रश्नचिन्ह लागिनै रहन्छ।

तर कानुनले मात्र समाजको सही चित्रण हुँदैन। कुनै पनि समाजको प्रगति त्यहाँको संस्कृति, मठ, मन्दिर, चौडा बाटा र आकाशचुम्बी भवनहरूले मात्र मापन गर्न सकिंदैन। निमुखा प्राणीप्रतिको व्यवहारले सो समाजको सिद्धान्त र जगको पहिचान गर्दछ। जबसम्म हाम्रा सन्ततिलाई ढुंगा हान्न होइन कि खाना बाँड्न सिकाइँदैन, तबसम्म हरेक समाजमा अशान्तिले जरा गारेर बस्छ। जबसम्म वर्षको एकपटक मात्र होइन कि हरेक दिन हाम्रो पुरानो साथीको ऋण तिरिंदैन, तबसम्म एक सभ्य भविष्य, आध्यात्मिक चेतना र मानिस हुनुको मूल उद्देश्यको परिकल्पना गर्न सकिंदैन।

अहिले बजु एनिमल नेपाल नामक संस्थाको चोभारस्थित आश्रयमा बस्छ। एउटा आँखा निकाल्नु परेकोले बाटोमा फिर्ता पठाउन मेरो मनले मानेन। म गैराख्छु उसलाई भेट्न। तर उसले मलाई न त पहिले जस्तो स्वागत गर्छ, न त खुशी भएर पुच्छर हल्लाउँदै नजिक आउन खोज्छ। टाउकोमा लागेको चोटले उसले मलाई चिन्न छाड्यो, एक्लै बस्छ झोक्राएर।

उसको दुःखले हाम्रो धर्म, संस्कृति, पूजा, पुण्य, मानवता माथि हाँसिरहेको हुन्छ। उसले फेरेको हरेक गाह्रो श्वासमा, एकै ठाउँमा बसिरहेको छापमा, ऊभित्रको आत्माको सरापमा, मानव जातिको निर्दयीपनलाई देख्दछु। त्यही घमण्डको प्रतिबिम्व देख्छु, बजु जस्ता हजारौं कुकुरहरूको वेदनामा लुकेको खोक्रोपनालाई देख्छु। यसैले हो, हामी मानव जातिले बिर्सियौं हाम्रो सबैभन्दा पुरानो साथीलाई।

अनि सोच्छु- अब सम्झिने बेला भएन र ?

प्रतिक्रिया

सम्बन्धित ख