
काठमाडौं । आँचल साहित्य कला पुञ्जले हेटौंडामा दुईदिने बृहत साहित्य महोत्सव आयोजना गर्ने भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कला पुञ्जले शुक्रबार र शनिबार देशभरका साहित्यकारलाई भेला गरेर बृहत साहित्यक महोत्सवको आयोजना गर्न लागेको हो ।
साहित्यका विभिन्न विषय तथा समाजसँग जोडिएका विषयवस्तुमाथि बहस र अन्तरक्रियासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।
महोत्सवले भाषा साहित्यको विकास र संरक्षण गर्दै फरकफरक परिवेश, समूह, भाषा, संस्कृति तथा रहनसहनमा रहेका साहित्यकारबीच साहित्य आदानप्रदान हुने न्यौपाने बताइन् । दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा देशका विभिन्न स्थानबाट ६० जना भन्दा बढी साहित्यकार आउने जनाइएको छ ।