
काठमाडौँ । काठमाडौँ उपत्यकाको आकाश केही दिनदेखि नै धुलो र प्रदूषणले ढाकेको छ । अत्यधिक वायु प्रदूषण, हावाको बहाव कम हुनु र वर्षासमेत नहुँदा उपत्यका धुलो मिश्रित तुवाँलोले ढाकेको हो ।
वातावरण विभागको एक तथ्याङ्क अनुसार बुधबार काठमाडौँको कीर्तिपुरमा पीएम २.५ को मात्रा ८६ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको देखाएको थियो । पीएम २.५ भनेको हावामा २.५ माइक्रो ग्रामभन्दा साना प्रदूषित सामग्री मिसिएको भन्ने हुन्छ । यो प्रदूषण बढी घातक हुने वातावरणविद्हरू बताउँछन् ।
ठूलो हावाहुरी नचली वा वर्षा नभई उपत्यकाको आकाश नखुल्ने वातावरणविद्हरुको भनाइ छ । बाक्लो तुवाँलो कै कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीएफआर र आईएफआर दुवै प्रविधिबाट उडान भर्ने आन्तरिक जहाजलाई समेत असर पुर्याएको छ । दिउँसो भिजिबिलिटी बढी भएपछि मात्र त्रिअविबाट आन्तरिक उडान हुँदै आइरहेको छ ।