युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

विराटनगर । विराटनगर महानगरपालिका प्रदेश १ को १३७ पालिका मध्येको एक मात्र महानगरपालिका हो । यो महानगरपालिकाले गरेका असल अभ्यासहरू अरू पालिकाको लागि सिकाई हुनसक्छ ।

अरू पालिकालाई देखाउनकै लागि पनि धेरै राम्रा कामहरू गर्नु पर्ने बाध्यता पनि छ, विराटनगर महानगरपालिका हरेक क्षेत्रमा नमुना काम गरेर देखाउनु पर्ने । जनप्रतिनिधि निर्वाचित भएर आएको पाँच वर्षको अवधिमा पनि देखिने खालको कुनैपनि काम नभएको नागरिक तहको बुझाई छ । सूचनाको हकका अभियन्ता राजु श्रेष्ठ विराटनगर महानगरपालिकाले गर्नु पर्ने धेरै कामहरू गर्न नसकेको बताउँछन् ।

केही पालिकाहरूले सकारात्मक कामहरू गरेको भएपनि विराटनगरले देखाउने खालको एउटै पनि काम गर्न नसकेको उनको भनाई छ । उनकाअनुसार नागरिकको तर्फबाट यो पाँच वर्षमा विराटनगर महानगर मात्र हैन देशभरिका स्थानीय तहमा निर्वाचित प्रतिनिधिको लेखाजोखा हुन थालेको हो । ‘हामी विराटनगरमा बसेर विराटनगरको समस्या देख्छौँ,’ उनले भने, ‘जो नागरिक जहाँका हुन् त्यहाँको समस्या नागरिकले उठान गर्न थालेका छन् ।’

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हिजो गरिएका प्रतिबद्धता र बाचाहरूको खोजी हुनुलाई उम्मेदवार र जनप्रतिनिधिले सामान्य रूपमा लिनु पर्ने सामाजिक शास्त्रका उपप्राध्यापक डा. चन्द्र तिम्सिनाको भनाई छ । ‘जनसम्पर्कको कुरामा जनप्रतिनिधिहरू चुकेका छन्,’ उनले भने, ‘नागरिक तहबाट अहिले नै चुनाव लक्षित नागरिक दबाब सिर्जना गर्ने, हिजोको घोषणा पत्रको समीक्षा गर्ने, अबका उम्मेदवारलाई उनीहरूको एजेन्डा सार्वजनिक गर्न लगाउने र कार्यान्वयन गर्ने आधारहरू समयमै खोजिनु पर्छ ।’

स्थानीय तहको प्राथमिकतामा पर्नुपर्ने सरसफाइ, ढल निकास, साना सवारी व्यवस्थापन, पालिका भित्रको आर्थिक सुशासन, कर शिक्षा, फोहोर मैला व्यवस्थापनमा पालिकाले नागरिकका अपेक्षा अनुसारको कामै गर्न नसकेको बुझाई नागरिक तहको छ । ‘नागरिकका सामान्य समस्याको समाधानमा पालिकाहरूको ध्यान गएको देखिन्न,’ उनी भन्छन्, ‘धेरै ठुला कुरा गर्नै पर्दै गरेका प्रतिबद्धताका नागरिकसँग जोडिएका विषयलाई मात्र हेरिएको भए हुन्थ्यो ।’

घोषणा पत्रअनुसार के गरे ?
स्थानीय तहको पहिलो निर्वाचनबाट विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुली निर्वाचित भएका थिए । सामान्य खालका गर्नै पर्ने विषयहरू पनि नभएको आरोप उनीमाथि लाग्दै आएको छ । परियोजना बाहेकका सडकहरू अहिले पनि उस्तै छन् ।

विराटनगर महानगरका वडा अध्यक्षहरू नै घोषणा पत्र अनुसारको काम नभएको बताउँछन् । बजेट अनुसारको योजना नल्याउँदा महानगर सधैँ अभावमा मात्र चल्नु परेको बुझाई उनीहरूको छ । विराटनगर महानगरपालिका भित्रको लाईटिङ, व्यवस्थित सरसफाइ, विकासका ठुला योजना लिएर जान नसकिएको, प्रदेश राजधानी भएर पनि ट्राफिक लाइटको व्यवस्थापनमा महानगरपालिकाको ध्यान नै गएन । स्थानीय सरकारको प्राथमिकतामा पर्नु पर्ने साना सवारी व्यवस्थापनको पनि कामै नभएको बुझाई वडा अध्यक्षहरूको छ ।

महानगरपालिकाले राजस्व संकलनमा वृद्धि गर्न नसकेको, आकाशे पुल निर्माणमा स्वार्थ बाँझिएपछि काम अघि बढ्न नसकेको अवस्थामा महानगरपालिकाले सहजीकरण नै गर्न नसकेको बुझाई वडा अध्यक्षहरूको छ । आकाशे पुल बनाउने हल्ला चलाइयो त त्यसमा विवाद समाधानको लागि छलफल नै भएन ।

विकास निर्माणमा मेयरले कसैसँग छलफल नगरी अघि बढ्ने गरेको बुझाई पनि वडा अध्यक्षहरूको छ । मेयर आफू एक्लै चलेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

विराटनगर इटहरी संयुक्त नगरबस सञ्चालनको कुरा पनि हल्ला मात्र गरियो कार्यान्वयनमा गएन । विराटनगर महानगर भित्रै पनि नगरबस सञ्चालनको काममा महानगरपालिका यो ५ वर्षको बिचमा चुकेको छ । विराट मेट्रो रेल सञ्चालन गर्ने भनेर पनि विराटनगरका मेयर पराजुली चर्चामा आए । विराट मेट्रोरेलको विषय उठाइयो मात्र त्यो कहाँ पुग्यो जवाफ कसैसँग छैन । वीरेन्द्र सभागृहको लागि संघीय सरकारले पठाएको ४ करोड रकम फिर्ता गरेपछि रोकिएको काम अहिले आएर शुरु भएको छ ।

लगानी हुँदा हुँदै पनि काम गर्न नसक्दा महानगरले देखाउन सकेन । जनप्रतिनिधि आउन भन्दा पहिला देखि नै सम्झौता भएर निर्माण शुरु भएको विराटनगरको टर्मिनल बसपार्कलाई अहिलेका जनप्रतिनिधि आफ्नै कार्यकालमा भएको हो भन्न छुटाउँदैनन् । विराटनगरमा बनेका चिल्ला कालोपत्रे सडक र ढल, नाली एडिबीको परियोजनाबाट जनप्रतिनिधी आउनु भन्दा करिब ५ वर्षभन्दा पहिलादेखि नै सम्झौता भएर आधा काम भएर अघि बढेको कामलाई पनि जनप्रतिनिधिले आफ्नै कार्यकालको उपलब्धिको रूपमा लिएका छन् ।

वडाहरूमा भने केही सकारात्मक कामहरू देखिएका छन् । प्रदेश राजधानीमा बाहिरबाट आउँदा देखिने खालको काम नभएपनि वडाहरूमा केही सकारात्मक काम भएको वडा अध्यक्षहरू बताउँछन् । बैजनाथपुरमा १५ बेड नगर अस्पताल, छ ठाउँमा अपाङ्ग मैत्री वडा कार्यालय बनेको छ ।

न्यायिक समितिबाट धेरै राम्रा कामहरू भएको बुझाई वडा नम्बर ३ का वडा अध्यक्ष विनोद बस्नेतको छ । ‘न्यायिक समिति मार्फत ८१ वर्ष उमेर पुगेर पनि टुटेको सम्बन्धलाई जोड्ने काम भएको छ,’ उनले भने, ‘यस्ता समस्या धेरै हामीले समाधान गरेका छौँ, महानगरमा आएपछि न्याय पाएर फर्किएका छन् ।’

कोभिड व्यवस्थापनका काम, २५ तले व्यापारिक कम्प्लेक्स बनाउने बारेमा प्रदेश लगानी बोर्डसँगको सहकार्यलाई पनि उपलब्धिको रूपमा हेरिएको छ । विराटनगर महानगरपालिकाका मेयर पराजुली भने विराटनगरको विकासमा धेरै काम भएको दाबी गर्छन् । टर्मिनल बसपार्क देखि एडिबीको परियोजना सक्ने काम भएको उनको दाबी छ ।

संघीय सरकारमा आफ्नो नेतृत्वको सरकार नहुँदा महानगरले काम गर्न नसकेको तर्क उनको छ। ‘पहिलो ५ वर्ष हाम्रो अनुकूलको सरकार थिएन, त्यसको असर हामीमा पर्‍यो,’ उनी भन्छन्, ‘अबको ५ वर्षमा म विराटनगरको लागि कायापलट ल्याइदिन्छु ।’

प्रतिक्रिया

सम्बन्धित ख