युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

विराटनगर । स्थानीय तह निर्वाचन २०७९ आउन अब ३७ दिन मात्रै बाँकी छ । बैशाख ३० गते मतदान हुँदैछ। दलहरुले विभिन्न नारा लिएर जनताको घरदैलो अभियान सञ्चालन गरेका छन्। उनीहरु भोट आफ्नो पोल्टामा पार्न यतिबेला गाउँ पसेका छन्। यतिबेला मुलुक चुनावमय भएको छ।

तर, गएको निर्वाचनमा मत लिएर गएकाहरु नफर्केको भन्‍दै सुकुम्बासी आक्रोशित भएका छन्। विराटरनगर महानगरपालिका १२ स्थित सीमराही (मुसहर बस्ती) मा हालसम्म कुनै पनि दलका नेता तथा जनप्रतिनिधिहरु नआएको भन्दै सुकुम्बासीहरु आक्रोशित भएका हुन्  ।

सामान्य वर्षाले समेत जलमग्न हुने सो स्थानमा लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्बासी (मुसहर )हरुले आफूहरुको समस्या समाधान गर्ने बाचा लिएर गएका नेताहरुको हालसम्म विनाकाम अनुहार हेर्ने समेत नदिएको दुखेसो पोख्छन्। स्थानीय उमेश रिसिदेवले वडा अध्यक्षलाई पटकपटक आग्रह गरे पनि आफूहरुको सडक र डुवानको समस्या समाधान गर्न कुनै चासो नदेखाएको बताए  । तीन पुस्तादेखि बसोबास गर्दै आएका उनीहरुले सडक बनाइ दिन चार वर्षदेखि आग्रह गरेपनि दुई महिनाअघि मात्र छोटो पुल बनाएर अलपत्र छोडेको बताए ।

विराटनगरको पश्चिम भएर बग्ने केशलीया खोला र स्थानीय फुफरी खोलाको पानीका कारण बर्सेनि ४ महिना डुवान हुने सो बस्तीको विकासबारे काम नहुँदा समस्या दिनादिन बढ्दै गएको उनले बताए  ।

पुल बनाएपछि माटो पुर्न पटकपटक आग्रह  गर्दा पनि वडा अध्यक्षले वेवास्ता गर्दा १० फिट गहिरोबाट सडक चढ्नु पर्ने बाध्यता भएको उनले बताए । उनले उपभोक्त समितिबारे पनि आफूहरु अनभिज्ञ रहेको बताए । विराटनगरको पश्चिम भएर बग्ने केशलीया खोला र स्थानीय फुफरी खोलाको पानीका कारण बर्सेनि ४ महिना डुबान हुने सो बस्तीको विकासबारे कसैले पनि चासो नदिँदा समस्या दिनादिन बढ्दै गएको उनले बताए  ।

उनले यसपटक सपना देखाउनेलाई नभइ काम गर्न उम्मेदवारलाई मात्र मतदान गर्ने बताए । स्थानीय ५५ वर्षीय वृहस्पति रिसिदेवले दलहरुले पटकपटक आश्वासन दिएपनि कुनै काम पूरा नगरेको आक्रोश पोख्दै सुकुम्बासी वस्तीका मतदाताहरुले आफूहरुको समस्या समाधान गर्नेलाई मात्र मत दिने निर्णय गरेको बताए  ।

सबै नेताहरुलाई हेरियो,’ उनले भने, ‘यसपटक विश्वास दिलाउनेलाई मात्र मतदान गर्नेछौं।’ पुस्तौंदेखि ऐलानीमा बस्दै आएका उनीहरुसँग  हालसम्म जग्गाको लालपूर्जा नहुनुको पीडा त छदैछ सोही जग्गाबाट हटाइ दिने पो हुन् कि भने त्रास पनि कायमै छ। यसपटक लालपूर्जा दिलाइ दिने विश्वास दिनेलाई मात्र मतदान गर्ने विराटनगर १२ बखरीका आशा देवी (मुसहर) ले बताइन् ।  विराटनगर  १२ बखरीमा ४ पुस्ता अगाडिदेखि बसोबास गर्दै आएका  मुसहर (रिसिदेव ) समुदायले  जंगल फाँडेर  बसेको भएता पनि  रिषिदेव (मुसहर) समुदायको अहिले बखरीस्थित चार टोल छन् ।

पुस्तौंदेखि ऐलानीमा बस्दै आएका उनीहरुसँग  हालसम्म जग्गाको लालपूर्जा नहुनुको पीडा त छदैछ सोही जग्गाबाट हटाइ दिने पो हुन् कि भने त्रास पनि कायमै छ।

एकातिर रिषिदेवहरूको पुस्ताले जंगल फाँडेर वस्ती बनाए पनि  पहुँचको बलमा हुनेखाने वर्गले हडपेर जग्गाधनी पुर्जा बनाइसकेका अवस्थामा आफूहरु घरबारविहीन भएको गुनासो भगलु रिसिदेवको छ । टोलमा सडक, बाटो, खानेपानी, सरसफाइ, शौचालय समेत नभएको अवस्थामा  झुठा अश्वासनमा मतदान नगर्ने उनले बताए  ।

विराटनगर महानगरपालिकाले सडक विस्तारका लागि छेउमै भएका घर भत्काउन पटक पटक सूचना दिने गरेकाले  उनीहरु झनै चिन्तित छन् । स्थानीय सावित्री रिषिदेवले घर र जग्गा दुवै सडकमा जाने भएकाले बाहिर कतै पनि जग्गा नभएकाले घर बनाइ दिनेलाई मात्र मत दिने बताइन् । अब आफूहरु आश्वासनमा होइन, काम गरेर देखाउनेलाई मात्र मतदान गर्ने रिसिदेव समुदायका सुकुम्बासी मतदाताहरुले बताए।

मधेशीवादी पनि हैन् ,पहाडी समुदायको विरोधमा हुने आन्दोलनमा पनि जान चाहेको हैन, तर मधेशीया हो भनेर जाँदा ठूला दलबाट हेला हुने गरेको रिसिदेवको भनाइ छ।रिषिदेव टोलमा दुईसय ६० परिवारको बसोबास छ । बखरी सिमहारही टोलका झरी रिषिदेवले आफूहरूको बसोबास बाटोमै भएको र त्यहाँ बाह्रै महिना हिलो हुने गरेको बताउँदै ऐलानी जग्गा धेरै भएपनि पहुँचवालाको अतिक्रमणले  बाटो छेउमा बस्न बाध्य भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर