युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । आउँदो ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनको तयारीमा दलहरू जुटिसकेका छन् । प्रायः सबैजसो राजनीतिक दल आ–आफ्ना पार्टीको घोषणापत्रसहित स्थानीय तहमा मत माग्न हिंडिसकेका छन् । तर कुनै पनि दलले २०७४ सालमा जनतासँग भोट माग्दा घोषणापत्रमा गरेको बाचा भने पूरा गरेका छैनन् । त्यसका पछाडि उनीहरूको आ–आफ्नै दाबी छ ।

२०७४ को निर्वाचनमा जनतालाई विकासका ठूल्ठूला सपना देखाएको नेकपा एमालेले यसपालिको घोषणापत्रमा आफूलाई सपनाबाट अलिकति बाहिर निकालेको पार्टीको घोषणापत्र निर्माणमा सक्रिय उप–महासचिव विष्णु रिमाल बताउँछन् । उनका अनुसार यसपालिको घोषणापत्र अनुभव र सपनाको फ्युजन हो ।

रिमालसँग पार्टीको घोषणापत्र र आउँदै गरेको चुनावमा केन्द्रित रहेर अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंशः

चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको छ । ४७ पृष्ठको घोषणापत्रमा यहाँहरूले निर्धारण गरेको प्राथमिकता बताइदिनुस् न !

यो घोषणापत्र स्थानीय तहका लागि हो । स्थानीय तहका आफ्नै घोषणापत्र हुन्छन् । आफ्नै कामहरू हुन्छन् । त्यही भएर एमालेले दुईवटा पाटोमा घोषणापत्र बनाएको छ । एउटा स्थानीय तह केन्द्रित गरेर गरिएको छ । प्रत्येक पालिका र वडामा छ । हामीले ९ गते ७५३ नगरपालिकामा एकैपटक सार्वजनिक गरेका छौं । अघिल्लो पाटोमा हामीले पाँच वर्षमा आफूले गरेका कामहरू राखेका छौं ।

पछिल्लो पाटोमा हामीले गर्ने काम के हो भनेर प्रतिबद्धता जनाएका छौं । वडाको आफ्नो फेहरिस्त छ, पालिकाको आफ्नो । केन्द्रमा हामीले नीतिगत कुरा गर्ने हो, हामीले त्यही गरेका छौं । हामीले १९ वटा नीतिगत प्राथमिकता राखेका छौं । पहिलोमा हामीले शिक्षा, दोस्रोमा स्वास्थ्य, रोजगारी, कृषिलाई प्राथमिकता दिएका छौं । क्रमशः पर्यावरणदेखि संरचनागत सुझावसम्मका कुरा छन् । अन्तिममा हामीले ६ वटा प्रतिबद्धता गरेका छौं । १९ वटा विषय पनि संविधानको अनुसूची ८ र ९ मा आधारित छ । हामीले बाहिरको कुरा बोल्न पाउँदैनौं । सरकार सञ्चालन गर्दा सीमाभित्र रहेर गर्नुपर्छ । सेवा दिनका लागि कार्य विस्तृतीकरण रिपोर्ट तथा अनुसूची ८ र ९ मा स्थानीय २२ वटा र साझा सूचीका १५ वटा अधिकारलाई आधार मानेर हाम्रो घोषणापत्र तयार पारेका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर