युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सुर्खेत । कर्णाली प्रदेश सरकारले वि सं २०७९ सालमा प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको वि सं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।

सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो । ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ ।

त्यस्तै, साउन १ गतेलाई साउने सङ्क्रान्ति तथा देउडा पर्व भनेर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भुसालले जानकारी दिएका छन् । ।

साउन १७ गते साउन शुक्ल पञ्चमी नाग पञ्चमी, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, असोज २३ गते शुक्ल कोजाग्रत पूर्णिमा, चैत्र १६ गते चैत्र शुक्ल नवमी रामनवमी प्रदेशभर बिदा दिइने सचिव भुसालले बताए ।

उनका अनुसार असोज कृष्ण त्रयोदशीका दिन भने चन्दननाथ बाबा मेलाको सार्वजनिक बिदा दिने निर्णय भएको छ । यस दिनमा भने जुम्ला जिल्लामा प्रादेशिक तथा स्थानीय तहका कार्यालयहरुमा बिदा हुने प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर