
कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको प्राङ्गनमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताए ।
नेपाल बार एशोसिएसनका पूर्व केन्द्रीय सदस्य रमणकुमार कर्णले न्यायालयलाई बचाउनका लागि पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिन ढिलाई गर्न नहुने बताए । उनले प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्नै नसक्ने दावी समेत गरे । कर्णले भने, ‘हामी प्रधानन्यायाधीशको राजीनामा माग गरेर निरन्तर आन्दोलनमा छौं । प्रधानन्यायाधीशको राजीनामा वकिलले माग गर्नु निश्चयनै दुःखद् कुरा हो । तर बारले माग गरिसकेपछि प्रधानन्यायाधीशले राजीनामा नदिनु त्यो भन्दा पनि दुःखद कुरा हो ।’
उनले भने, ‘प्रधानन्यायाधीशले यो बुझ्नु पर्छ कि बार किन तपाईको राजीनामा माग गर्न बाध्य भयो, विवश भयो ? बार र बेन्ज दुवैले तपाईको राजीनामा माग गरिरहेका छन । यस्तो अवस्थामा तपाईसँग राजीनामाको विकल्प छैन । राजीनामा दिनुस् । मार्ग प्रशस्त गर्नुस् । तपाईका लागि सबैभन्दा यही राम्रो हुन्छ ।’
उनले प्रधानन्यायाधीश जबरा रहुञ्जेल सर्वोच्च अदालत चल्न नसक्ने बताए । एशोसिएशनले मंगलबार (भोलि) बिहान साढे १० बजेपनि सर्वोच्च अदालतको प्राङगनमा धर्ना दिने जनाउँदै त्यसमा सहभागी हुन कानुन व्यवसायीहरुलाई आह्वान गरेको छ । Ratopati.com