
काठमाडौं। राहदानी विभागले एमआरपी विस्थापन गरी आज बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरेको छ । शुरुमा दैनिक सीमित संख्यामा मात्र ई–पासपोर्ट वितरण गरिने भए तापनि एक साताभित्रै पूर्ण रूपमा वितरण गरिने विभागले जनाएको छ । सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन्।समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने भएकाले राहदानी लिन लाइन बस्ने झन्झटबाट सेवाग्राहीले छुटकारा पाउनेछन्। ई–पासपोर्ट जारी भए तापनि तत्कालै ई–पासपोर्ट अनिवार्य नगरिने भएकाले आफूसँग भएको एमआरपीले नै काम चलाउन सकिने पनि विभागले जनाएको छ ।
राहदानी विभागले सन् २०२० डिसेम्बर २० मा फ्रान्सको आईडीआईएमआईए आइडेन्टी एन्ड सेक्युरिटीसँग २ अर्ब ४८ करोड रुपियाँमा ई–पासपोर्ट छपाइका लागि खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले १० महिनाभित्र ई–पासपोर्ट वितरणको काम सकेको हो ।
ई–पासपोर्ट एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो हुनुका साथै उच्च प्रविधिको प्रयोगका कारण अन्तर्राष्ट्रिय जगत्मै विश्वासिलो पनि मानिएको छ । यसमा मोबाइलको सिमजस्तै सानो विद्युतीय चिपको प्रयोग हुन्छ । यसमा व्यक्तिगत विवरणसहित बायोमेट्रिक तथ्यांक पनि राखिएको हुन्छ, जसले गर्दा कम्प्युटरले सजिलै रिड गर्न सक्छ । बायोमेट्रिक तथ्यांकका कारण राहदानीको दुरुपयोग हुने समस्याको समाधान हुने विश्वास गरिएको छ । यसको ‘सेक्युरिटी फिचर’ पनि कडा हुने गर्दछ ।
ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ। ६४ पृष्ठको ई–पासपोर्टमा पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा हुनेछ ।
त्यसै गरी, पहिलो पृष्ठमा भने सगरमाथा, दोसोमा पोलिकार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौ पृष्ठमा एकसिंगे गैंडाको तस्वीर रहने बताइएको छ ।सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ई-पासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ ।
ई-पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले बुधबार दिउँसो २ बजे गर्दै छन् । सोही कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइने परराष्ट्रमन्त्री खड्काका निजी सचिव कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।उनले भने, ‘ई पासपोर्ट वान सत्यमोहन जोशीको नाममा तयार भएको छ । आज नै उहाँलाई दिइने छ । यहाँलाई कार्यक्रममा ल्याउने सबै व्यवस्था पनि मिलाइसकेका छौं।’