गौतम कुनैबेला एमालेका शक्तिशाली नेता थिए । उनले एमाले फुटाएर माले बनाएको इतिहास पनि छ । दुईपटक गृहसहित उपप्रधानमन्त्री बने । हक्की स्वभावका उनी केपी शर्मा ओली र माधवकुमार नेपालसामु भने कमजोर देखिए ।
गौतमको प्रधानमन्त्री बन्ने चाहना अझै पूरा भएको छैन । उनी सरहका नेताहरु केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री बने । तर, गौतम बन्न सकेनन् । उनले प्रयास भने छाडेका छैनन् । गएको आमनिर्वाचनमा जाँदा गौतम प्रधानमन्त्रीका दाबेदार जसरी गएका थिए । तर, चुनाव हारेपछि त्यो सम्भावनाको ढोका बन्द भयो ।
अहिले गौतम रणनीतिक तरिकाले कम्युनिस्ट एकता बनाउने र त्यसको जस लिने गरी बढेका छन् । कम्तिमा नेकपा माओवादी केन्द्र, नेकपा एससहित कम्युनिस्ट घटकहरु एक बनाएर चुनावमा जाने वातावरण तयारीमा लागेका छन् । उनी बलियो गठबन्धन या केही कम्युनिस्ट पार्टीको एकताबाट बनेको शक्तिमा जाने सम्भावना बलियो छ । तर, ओली नेतृत्वको नेकपा एमालेमा फर्कने सम्भावना कम छ ।