युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

४ माघ, काठमाडौं ।अन्तर्राष्ट्रिय खेलको ब्रेकअघि शहीद स्मारक ए डिभिजन लिगको अन्तिम चरण अर्थात नवौं चरणलाई कोभिड-१९ ले प्रभावित भयो ।

नवौं चरणका ६ खेल सम्पन्न हुँदा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल च्यासलका १९ खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि हुन सकेन।

आइतबार तय भएको यस खेल लिग कमिटीले मेडिकल कमिटीसँगको सल्लाहमा स्थगित गरेको छ । साथै अर्को उपयुक्त मिति तय गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

‘म्याच विक नाइन’मा सबैभन्दा ठूलो विशेषता खेलाडीमा कोभिड देखिनु नै बन्यो । यसअघि कुनै पनि चरणमा आधिकारिक रुपमा कोभिड संक्रमण भएको तथ्य बाहिर आएको थिएन । यस्तै लिग लिडर मछिन्द्रका मनिष डाँगीलाई पनि कोभिड संक्रमण भएको ब्रिगेडसँगको खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले बताए ।

नवौं चरणमा ७ मध्ये ६ खेल भए । खेलाडीमा कोभिड देखिनुबाहेक पनि यो चरणका अन्य धेरै विशेषता छन् । साविक विजेता मछिन्द्रले अंक दूरी बढाउँदै उपाधि होड मजबुत बनाउनेदेखि मनाङ मर्स्याङ्दी नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुनेसम्मको नतिजा बयो ।

यस्तै लगातार ८ खेलमा अपराजित संकटा क्लब पनि नवौं चरणमा आएर पराजित भयो । फ्रेण्ड्स क्लबले भने अहिलेसम्म एक खेल पनि जित्न सकेन ।

विमलको लय र मछिन्द्रको च्याम्पियन शैली

विमल घर्ती मगर नायक बन्दा साविक विजेता मछिन्द्रले नवौं चरणमा च्याम्पियन शैलीको प्रदर्शन गर्‍यो । विमलको दुई गोल र एक असिस्टमा मछिन्द्रले ब्रिगेड ब्वाइजलाई ४-० ले हरायो । यो प्रभावशाली जितपछि लिग लिडर मछिन्द्रले दोस्रो स्थानको मनाङ मर्स्याङ्दीमाथि ४ अंकको अग्रता कायम गर्दै उपाधि होड बलियो बनाएको छ । यस्तै अपराजित यात्रा पनि ९ खेलसम्म कायम राखेको छ । जारी लिगमा मछिन्द्र र आर्मी मात्र अपराजित छन् ।

चोटबाट निको भएर मैदानमा पुनरागमन गरेका विमलले सुरुमा बेन्चबाट खेल सुरु गरे पनि पछिल्ला खेलहरूमा भने पहिलो रोजाइमा अवसर पाउन थालेका छन् । उनले त्यही अनुसारको प्रदर्शन पनि गर्दै आएका छन् । जारी लिगमा ८ खेल खेल्दा विमलले तीन गोल गरेका छन् ।

मछिन्द्र लिगको सातौं जितपछि ९ खेलबाट २३ अंक जोडेर शीर्ष स्थानमा आसिन छ ।

जायन्ट किलर सातदोबाटो

ए डिभिजनको नवप्रवेशी सातदोबाटोले लिगको सुरुआती तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ९ मध्ये ७ अंक जोडेको थियो । सुरुमै राम्रो प्रदर्शन गरेको सातदोबाटोले त्यसपछिका उही प्रदर्शन गर्न सकेन र ५ खेलमा जम्मा २ अंक मात्र थप्न सक्यो । तर नवौं चरणमा आएर सातदोबाटोले अर्को उत्कृष्ट नतिजा निकाल्यो ।

दोस्रो चरणमा थ्री स्टारलाई स्तब्ध पारेको सातदोबाटोले नवौं चरणमा सर्वाधिक ८ पटकको विजेता मनाङलाई २-१ ले हराइदियो ।

ए डिभिजन लिगमा पहिलो पटक खेलिरहेको सातदोबाटोले घरेलु फुटबलका दुई ठूला र चर्चित क्लबलाई नै पराजित गरेर जायन्ट किलरको छवि बनाएको छ ।

९ खेल खेल्दा तीन जित, तीन बराबरी र तीन हारको नतिजापछि १२ अंक जोडेको सातदोबाटो सातौं स्थानमा उक्लेको छ ।

सातदोबाटोका प्रशिक्षक मेघराज केसी आफ्नी आमाको १३औं दिनको काम सकेर यही खेलमार्फत मैदान फर्केका थिए । सातदोबाटोले मनाङलाई हराएर प्रशिक्षकको लागि पनि एउटा सुखद स्वागत गर्‍यो ।

म्यान अफ दि म्याच प्रशान्त अवस्थीले पनि खेलपछि मनाङलाई हराउने गरी नै खेल्ने टार्गेटका साथ खेलेको र जित सम्भव भएको बताएका थिए ।

मनाङको भने यो दोस्रो हार हो र यसले उपाधि होडमा ठूलो धक्का लाग्दा लिग लिडर मछिन्द्रलाई फाइदा पुगेको छ ।

आर्मी ट्रयाकमा

सातौं चरणको खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बाँकी ६ खेल जित्दै २९ अंक जोडेर लिग सकाउने लक्ष्य अनुसार खेलेको र पछिल्लो जितले लयमा आएको प्रतिक्रिया दिए । त्यसयता आर्मीले लगातार दुई खेल जित्दै ट्रयाकमा आएको संकेत गरेको छ ।

नवौं चरणमा आर्मीले रेलिगेसन जोनको फ्रेण्ड्समाथि ३-१ को सहज जित हात पारेपछि पनि न्यौपानेले महत्वपूर्ण तीन अंक जोड्न सफल भएको बताएका थिए । पछिल्ला खेलमा लगातार जितले आर्मी उत्साहित बनेको छ । यसअघि आर्मीले एनआरटीलाई पराजित गरेको थियो ।

लिग लिडर मछिन्द्रसँगै नवौं चरणसम्म अपराजित क्लबको रुपमा रहेको आर्मी १७ अंक जोडेर अंकतालिकामा पनि सुधार गर्दै तेस्रो स्थानमा उक्लेको छ ।

आर्मीले ९ मध्ये चार खेल जितेको छ भने पाँच खेल बराबरी खेलेको छ ।

उता आर्मीसँग हारेपछि फ्रेण्ड्स भने अझै जितविहीन छ र रेलिगेसनको खतरा बढेको छ । ९ खेलबाट फ्रेण्ड्सको जम्मा तीन अंक छ । अब ब्रेकपछि हुने ब्रिगेडविरुद्धको खेल हारे बच्न कठिन हुने प्रशिक्षक मृगेन्द्र मिश्रले पनि बताइसकेका छन् ।

संकटाको अपराजित यात्रा समाप्त

यस सिजन गजबको प्रदर्शन गरिरहेको संकटा क्लबको लगातार ८ खेलको अपराजित यात्रा नवौं चरणमा आएर टुङ्गियो । सब्सिच्युट खेलाडी विजयी भुजेलले इन्जुरी टाइमको अन्तिम समयमा गोल गरेपछि संकटा थ्री स्टारसँग १-० ले पराजित भएको हो ।

बराबरीतर्फ अघि बढेको खेलमा विजयले अन्तिम सटमा गोल गरेका थिए । शीर्ष स्थानको मछिन्द्र र मनाङलाई पछ्याइरहेको संकटा यस हारपछि भने अंकतालिकामा पनि पछि परेको छ ।

जारी लिगमा थ्री स्टारको यो चौथो जित हो । यसले अपराजित यात्रालाई ७ खेलसम्म लम्बाएको छ । दोस्रो खेलमा सातदोबाटो युथ क्लब सँग पराजित भएयता थ्रीस्टारले खेलेका ७ खेलमा कुनै खेल हारेको छैन । थ्री स्टारको यो लगातार तेस्रो जित पनि हो । पछिल्ला दुई खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबलाई पराजित गरेको थियो ।

संकटालाई हराएपछि ९ खेलबाट १६ अंक जोडेर थ्रीस्टार संकटालाई नै पछि पार्दै चौथो स्थानमा उक्लेको छ । उता सिजनको पहिलो हारपछि संकटा भने १४ अंकसहित पाँचौ स्थानमा झरेको छ ।

संकटाले ९ मध्ये तीन खेल जित्दा ५ खेल बराबरी खेलेको थियो । नवौं चरणमा हारपछि संकटाको शीर्ष तीनमा रहने यात्रामा धक्का लागेको छ ।

एपीएफलाई राहत

हिमालयन शेर्पालाई १-० ले हराएपछि एपीएफका प्रशिक्षक कुमार थापाले लिग ब्रेकअघि श्वास फर्ने मौका पाएको प्रतिक्रिया दिए । यसले पनि एपीएफलाई कति राहत मिलेको छ भन्ने प्रष्ट देखाउँछ ।

सुरुआती तीन खेलमा लगातार हार बेहोरेको एपीएफले त्यसयता लगातार ६ खेलमा अपराजित यात्रा कायम राखेको छ ।

हिमालयन शेर्पाविरुद्धको जित एपीएफको दोस्रो जित हो । शेर्पालाई हराएपछि २ जित, ४ बराबरी र तीन हारको नतिजापछि १० अंक जोडेर एपीएफ आठौं स्थानमा उक्लेको थियो । अन्य खेलपछि एपीएफ अहिले नवौं स्थानमा छ ।

गोल्डेन बुट होड रोमाञ्चक

मनाङबाट खेलिरहेका विदेशी खेलाडी ओलावाले आफिज । नवौं चरणको खेलसम्म आइपुग्दा उनले सबैभन्दा धेरै ६ गोल गरेका छन् ।

लिगको सर्वाधिक गोलकर्ताले यस सिजन गोल्डेबल बुट अवार्ड पाउनेछन् । त्यसैले सर्वाधिक गोल गर्दै गोल्डेन बुट जित्ने होड पनि रोमाञ्चक छ ।

दुई विदेशी खेलाडी ओलावाले आफिज र मार्टिन्स अयाजीसँगै नेपाली खेलाडी सुनिल बल यो रेसमा सबैभन्दा अघि छन् । नवौं चरणमा मनाङका ओलवाले र सातदोबाटोमा मार्टिन्सले गोल गरे । तर मछिन्द्रका सुनिल बलले गोल गर्न सकेनन् ।

अहिलेसम्म ओलावले सर्वाधिक ६ गोल गर्दै शीर्ष स्थानमा छन् । मार्टिन्स र सुनिलको समान पाँच/पाँच गोल छ । यस्तै एपीएफका आशिष लामाको ४ गोल छ । नवौं चरणमा जावलाखेलविरुद्ध २ गोल गरेपछि एनआरटीका दर्शन गुरुङ पनि ४ गोलसहित सर्वाधिक गोल गर्ने होडमा अघि आएका छन् ।

नवौं चरणको खेलको नतिजा

एपीएफ १-० हिमालयन शेर्पा

मनाङ १-२ सातदोबाटो

आर्मी ३-१ फ्रेण्ड्स

थ्रीस्टार १ ० संकटा

मछिन्द्र ४-० ब्रिगेड

पुलिस- च्यासल (स्थगित)

एनआरटी २-० जावलाखेल

नवौं चरणको खेलको गोलकर्ता

आवास लामिछाने, एपीएफ

मार्टिन सिलो नांगा, सातदोबाटो

मार्टिन्स अजायी, सातदोबाटो

ओलावाले आफिज, मनाङ

जगजित श्रेष्ठ, दिनेश हेन्जन, सुमन अर्याल, आर्मी

जमाउन एन्थोनी पउल, फ्रेण्ड्स

विजय भुजेल, थ्रीस्टार

विमल घर्ती मगर (२ गोल), मछिन्द्र

रेजिन सुब्बा, मछिन्द्र

अभिषेक रिजाल, मछिन्द्र

दर्शन गुरुङ (२ गोल), एनआरटी

प्रतिक्रिया

सम्बन्धित ख