रौतहट । पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा अवैध रूपमा सञ्चालन गरिएको एक गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । आक्रमणकारीले गरेको ढुंगामुढाबाट सशस्त्र प्रहरीका दुई वटा सवारी साधनमा क्षति पुगेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन केसीका अनुसार स्थानीय मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा कपडा भण्डारण गरिएको सूचनाका आधारमा सोमबार छापा मारिएको थियो ।
छापामा सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोली सहभागी थियो । उक्त टोलीले गोदामबाट करिब ५ लाख रुपैयाँ बराबरको पाँच पोका कपडा बरामद गरेको छ ।
बरामद गरिएको सामान नियन्त्रणमा लिएर लैजाने क्रममा आक्रोशित तस्कर समूहले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका थिए । सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आक्रमणका कारण सशस्त्र प्रहरीको एउटा वानटन र एउटा स्कार्पियो गाडीको सिसा फुटेको छ ।
झडपमा परेर तीन जना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन् । घाइते सुरक्षाकर्मीहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयलाई जिम्मा लगाइएको छ । घटनापछि सम्भावित तनावलाई मध्यनजर गर्दै आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य तीव्र पारिएको छ ।
