काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं. ५ का उम्मेदवार बालेन शाह भारी मतकासाथ विजयी भएका छन्।
बालेनले ६८ हजार ३४८ मत ल्याउँदै झापाबाट विजय हासिल गरेका हुन्।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक जीत हात पारेका हुन्।
बालेनका निकटतम प्रतिस्पर्धी ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्।
यसैगरी उक्त क्षेत्रमा नेपाली कांग्रेसकी मंधरा चिमोरियाले १८२१ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १४६१ मत प्राप्त गरेका छन्।
ओलीको पक्कड क्षेत्र मानिने झापा–५ मा बालेनको जितलाई देशभरकै रोमाञ्चक राजनीतिक परिणामका रूपमा हेरिएको छ। लामो समयदेखि एमालेको प्रभाव रहेको क्षेत्रमा यसपटक आएको परिणामले राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु गरेको छ।
ओलीले संसदीय चुनावमा पराजय खेपेको यो दोस्रो पटक हो। यसअघि झापाका विभिन्न निर्वाचन क्षेत्रबाट उनले ६ पटक जित हासिल गरेका थिए।
ओली लामो समयदेखि नेपालको प्रमुख राजनीतिक व्यक्तित्वका रूपमा स्थापित छन्। उनी यसअघि दुई पटक नेपालका प्रधानमन्त्री भइसकेका छन् र एमालेका अध्यक्षका रूपमा राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएका छन्। त्यसैले पनि ओलीको राजनीतिक प्रभाव रहेको क्षेत्रमा बालेन शाहको जितलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यो निर्वाचनमा विजयी भएसँगै शाह पहिलो पटक संसदीय यात्रामा सफल भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजय हासिल गर्दै उनले संघीय संसदतर्फ आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।
स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हालेर चर्चा कमाएका शाह अहिले राष्ट्रिय राजनीतिमा प्रवेश गर्न सफल भएका छन्।
युवापुस्तामाझ लोकप्रिय छवि बनाएका शाहको जितलाई नयाँ पुस्ताको राजनीतिक सहभागिता र परिवर्तनको संकेतका रूपमा हेरिएको छ। उनको विजयसँगै स्वतन्त्र राजनीतिप्रति जनतामा बढ्दो विश्वास देखिएको विश्लेषण पनि गर्न सकिन्छ।

Leave a Comment