मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङ गाउँमा हिमाली कालो भालुको बच्चा जिउँदै उद्धार गरिएको छ।
अन्दाजी आठदेखि नौ महिनाको उमेरको भालुको बच्चा शुक्रबार बिहान करिब ६ बजे स्थानीय संजोग थकालीको घर पछाडि रहेको स्याउ भण्डारण कक्षमा पसेर स्याउ खाइरहेको अवस्थामा फेला परेको हो। घटनाबारे स्थानीय दिलकुमारी थकालीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) जोमसोमलाई जानकारी गराएकी थिइन्।
सूचनापछि इलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताको नेतृत्वमा पुगेको प्राविधिक टोलीले करिब एक घण्टा ३० मिनेटको प्रयासपछि भालुको बच्चालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर उद्धार गरेको हो।
एसीएपी जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक अमित चौधरीका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षणमा उक्त भालु अन्दाजी १५ देखि २० केजी तौलको पोथी रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ। भालुको बच्चा माउबाट छुट्टिएर वा आहाराको खोजीमा जंगलबाट गाउँ पसेको हुनसक्ने अनुमान गरिएको छ।
उद्धार गरिएको हिमाली कालो भालुको थप स्वास्थ्य परीक्षणपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय पोखरासँग समन्वय गरी प्रहरी तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा प्राकृतिक बासस्थानमै छाडिने जनाइएको छ।
