
डा. प्रकाशराज रेग्मी
मुटुरोग विशेषज्ञ
चाडपर्वका बेला खानपानमा सन्तुलन नहुँदा रक्तचाप बढेर अर्थात् मासुकै कारण ब्लड प्रेसर एकाएक १८०–२०० सम्म पुग्छ । जसले मुटु, आँखा, दिमागलाई असर पार्न सक्छ । चक्कर लाग्ने, बेहोस हुने समस्याले अस्पतालको इमर्जेन्सी वार्डमै पुर्याउन सक्छ ।
दशैंमा मासु खाँदा के–के कुरामा ध्यान दिने ?
विशेषगरी बडादशैँ मासुसँग जोडिन्छ, तिहार चाहिँ धेरैजसो मिठाइसँग सम्बन्धित छ । तिहारमा सेल रोटीसँग पनि जोडिन्छ ।
मासुको कुरा गर्दा मानिसहरूका लागि यो प्रोटिनको राम्रो स्रोत हो । मासुलाई विधि पुर्याएर खायो भने धेरै नै फाइदा गर्छ । हाम्रो समाजमा मांसाहारीहरूको संख्या धेरै छ । कतिपय मानिसहरू मांसाहार भन्दा शाकाहार राम्रो हो, सागसब्जी नै उत्तम हो भन्छन् । तर मासुलाई पनि राम्रो तरिकाले खायो भने नराम्रो होइन ।
दशैँमा खसी काट्ने परम्परा
दशैँमा खसी काट्ने, त्यसपछि विभिन्न परिकारहरू बनाउने – कबाब, भुटुवा लगायत – खाइन्छ । त्यस्तै कलेजो, भित्री अङ्गहरूको मासु साथै रगत समेत खाने गरिन्छ । तर कतिपय अस्वस्थ्यकर तरिकाले पकाइन्छ ।
दशैँको समयमा विशेषगरी खसीको मासु धेरै खाँदा विभिन्न रोगले आक्रमण गर्ने, आकस्मिक शारीरिक समस्या देखापर्ने, मुटु एवम् पेटका रोगहरू साथै अन्य स्वास्थ्य समस्याहरू देखिने गरेका छन् । यस्ता कुरामा विशेष सावधानी अपनाउनुपर्छ ।
मासुको छनोट कसरी गर्ने ?
मासु र स्वास्थ्यको सम्बन्ध विशेष छ । दशैँमा छुट्टी हुन्छ, आफन्तहरू आउँछन्, रमाइलो गर्ने चलन हुन्छ । त्यो बेला रातो मासु (रेड मिट) धेरै प्रयोग हुन्छ ।
रेड मिटमा कोलेस्ट्रोल धेरै हुन्छ, चिल्लो पनि बढी हुन्छ । यस्तो मासु खाँदाखेरी शरीरमा असर देखिन्छ । यसले कोलेस्ट्रोल बढाउँछ, मुटुमाथि लोड बढाउँछ, नुन पनि धेरै हुन्छ । त्यसैले मासु छनोट र पकाउँदा सावधानी आवश्यक छ ।
मृत्युको जोखिम उच्च
शरीरमा नुनको मात्रा बढी भयो भने ब्लड प्रेसर बढ्छ, जसले किड्नी र दिमागलाई असर गर्छ । रेड मिटले युरिक एसिड पनि बढाउँछ ।
युरिक एसिड बढ्दा बाथको समस्या, जोर्नी दुख्ने समस्या देखिन्छ । कहिलेकाहीँ अस्पताल धाउनुपर्ने अवस्था आउँछ । खानपानमा सन्तुलन नमिल्दा दशैँमै यस्ता समस्या देखिन्छन् ।
त्यस्तै कोल्ड ड्रिंक्स र रक्सी सेवनले मुटुको धड्कन बिगार्छ, जसलाई होलिडे हार्ट सिन्ड्रोम भनिन्छ । यस्तो हुँदा मुटु राम्रोसँग पम्प हुँदैन, श्वास फेर्न गाह्रो हुन्छ, हार्ट फेल वा स्ट्रोकसम्म हुन सक्छ ।
खसीको रगत खान मिल्छ कि मिल्दैन ?
दशैँ वा विशेष अवसरमा रगत खाने चलन छ । तर रगतमा जीवाणु हुन्छन् । सबै खसी स्वस्थ्य हुँदैनन् ।
रगतमा नुनको मात्रा धेरै हुन्छ । आन्द्राभुँडी मिसाएर भुट्दा पनि स्वास्थ्यकर हुँदैन । त्यसैले धेरै नुन र मसला प्रयोग गर्नुहुँदैन, पकाउने तरिका सुधार्नुपर्छ ।
मासु खाँदा ध्यान दिनुपर्ने कुरा
-
मासु ताजा खानुपर्छ, बासी मासु खाँदा असर गर्छ ।
-
दशैँमा मानिसहरू खेलकुद कम गर्छन्, जसले पाचनमा समस्या ल्याउँछ ।
-
मासु खाइसकेपछि सागसब्जी, फलफूल, सलाद खानुपर्छ ।
-
जंकफुड र मिठाई बढी खानु हुँदैन ।
मासु कतिसम्म खान मिल्छ ?
-
थोरै–थोरै गरेर, सलादसँग खाँदा राम्रो हुन्छ ।
-
धेरै चिल्लो नहालिकन पकाउनुपर्छ ।
-
दिनदिनै ताजा पकाएर खानुपर्छ ।
-
मासुसँगै व्यायाम, फलफूल र तरकारी खानुपर्छ ।
खानपान र स्वास्थ्य
जस्तो खानपान हुन्छ, त्यस्तै स्वास्थ्य बन्छ । राम्रो खानपानले शरीरलाई स्वस्थ्य बनाउँछ ।
आजभोलि युवाअवस्थामै (२०–२५ वर्ष) हृदयाघात, ब्लड प्रेसर, क्यान्सर बढेको छ । यसको प्रमुख कारण असन्तुलित खानपान हो ।