मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षित र मर्यादित बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मकवानपुरले निगरानी र अनुगमन तीव्र बनाएको छ।
निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका सवारी साधनमा निर्वाचन आचारसंहिता विपरीत टाँसिएका पर्चा–पम्पलेट हटाउन लगाएको छ।
प्रहरीका अनुसार, केही सवारी साधनमा दल तथा उम्मेदवारको प्रचार सामग्री जडान गरिएको पाएपछि तत्काल हटाउन निर्देशन दिइएको थियो। यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित पक्षलाई अनुरोध तथा सम्झाइ–बुझाइसमेत गरिएको छ।
प्रमुख पुष्कर बोगटीले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए। उनले सबै राजनीतिक दल, उम्मेदवार र सर्वसाधारणलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे।
प्रहरीले निर्वाचन अवधिभर आचारसंहिता उल्लङ्घन गर्ने कार्यप्रति कडा निगरानी राख्ने र आवश्यक परे कानुनी कारबाही अघि बढाउने स्पष्ट गरेको छ।




