युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । घाँसे मैदानको वरपर पलाँसका रुखहरुले वनै पहेंलपुर भएका छन् । मैदानलाई स्वतन्त्र विचरण गर्ने बाघहरु आहाराको खोजीमा दाउ छोपेर बसिरहेका छन् । हरिण र जरायो भयभित हुँदै त्यही जंगलमा चर्दै जान्छन् । सानो क्षेत्रफलमा अनेकथरी जंगली जनावरको यसरी नै जीवनलीला चलिरहेको छ । कहिलेकाहीं यही जीवनचर्या हेर्नका लागि आगन्तुकहरु आउँछन् । यी सबैको संयोजनले निकुञ्ज घुम्न आउने जोकोहीलाई पनि मन्त्रमुग्ध पार्छ ।

यही शुक्लाफाँटाको घाँसे मैदान हो, जहाँ झण्डै साढे २ हजार बाह्रसिंगेको झुण्डले आफ्नो ‘साम्राज्य’ खडा गरिरहेका छन् । एउटा कुनाबाट अर्काे कुनामा छोटो उडान भर्नेदेखि पर्यटकहरुलाई बाटो छेकेर फँडा फिजाएर स्वागत गर्ने मयूरले निकुञ्जमा झनै आकर्षण भरेको छ ।

५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुककै ठूलो घाँसे मैदान हो । जहाँ बाह्रसिंगेसँगै निकुञ्जभित्र १७ वटा वयस्क बाघ रहेका छन् । सानो क्षेत्रमा धेरै बाघ रहेको यो क्षेत्रमा घुम्न आउने पर्यटकका लागि बाघको दर्शन अन्यत्र जस्तो दुर्लभ हुँदैन । साथमा मयूरले देखाउने आफ्नो सप्तरंगी कला र मृगले देखाउने नाचले पर्यटकलाई झनै आकर्षित गराउने गर्छ ।

यो निकुन्ज बाह्रसिंगेको लागि प्रसिद्ध छ । सन् २०१४ मा यस निकुञ्जमा २ हजार ३०१ वटा बाह्रसिंगे गणना गरिएको छ । यो निकुञ्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ । यहाँ करिब २०-२५ वटा जंगली हात्ती छन् । सन् २०१७ को गणना अनुसार यस निकुञ्जमा एकसिंगे गैडाको संख्या १६ वटा थियो भने सन् २०१८ मा गरिएको गणनाअनुसार यस निकुञ्जमा बाघको संख्या १६ रहेको छ । सन् २००९ मा पहिलो पटक यहाँ बाघको गणना गरिएको थियो । त्यसबेला वयस्क बाघको संख्या आठ मात्रै थियो ।

बाक्लो सालको जंगलले ढाकिएको यो क्षेत्रमा सिसौ र खयरका प्रजाति पाइन्छन् । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगे, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानी ताल तथा अन्य स-साना तालहरूमा मगर गोही प्रशस्त पाइन्छन् भने रैथाने र बसाइ सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गी रहेको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।

२०२६ सालमा यहाँ शिकार आरक्ष स्थापना भएको हो । पछि २०३१ सालमा वन्यजन्तु आरक्षका रुपमा विकास गरिएको हो । शुक्लाफाँटा ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । गत वर्ष आरक्षलाई निकुञ्जमा परिणत गरिएको हो । कुल क्षेत्रफलको करिब १७ प्रतिशत भूभाग घाँसे मैदानले ओगटेको छ । २०६१ सालमा यहाँ मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख