काठमाडौं । राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय तहको निर्वाचन आचार संहिता पूर्णरुपमा पालना गर्न प्रतिवद्धता जनाएका छन् । दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरी पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । दर्ता भएका दलका प्रतिनिधिहरुलाई मंगलबार आयोगले बोलाएको थियो । आयोगले आचारसंहिता उल्लंघन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि दलका प्रतिनिधिहरुबाट प्रतिबद्धता लिएको हो ।
निर्वाचनमा भाग लिन आयोगमा ७९ वटा दल दर्ता भएका छन् । आयोगले निर्वाचन आचारसंहिता जारी गरिसकेको छ ।
नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्काले निर्वाचन आयोगले जारी गरेको आचारसंहितमा आफ्नो दलको तर्फबाट प्रतिवद्धता जनाएको बताए। निर्वाचनमा भाग लिन चाहने दलको दलका प्रतिनिधिको तर्फबाट आचारसंहिताको पूणर्पालना गर्ने विषयमा आयोगमा प्रतिवद्धता जनाइएको हो,’ उनले भने।
नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुषालले आचारसंहिता प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताए । उन्नत लोकतान्त्रिक पार्टीका अध्यक्ष स्वागत नेपालले आयोग र दलका प्रतिनिधिबीच छलफल भएको बताए । उनले भने, ‘आचारसंहितामा कहिल्यै पनि हस्ताक्षर गरिदैन । हस्ताक्षर गर्नुपर्ने विश्वव्यापी अभ्यास छैन ।’
आयोगले स्थानीय तह निर्वाचन आचारसंहितामा लिखित प्रतिबदत्ता जनाउन बोलाएको सर्वदलीय बैठकमा विवाद सृजना भएको थियो। आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल नगरी हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएका थिए।
आयोगले ठूला दलको मात्र कुरा सुन्ने गरेको भन्दै उनीहरुले नाराबाजी गरेका थिए।

Leave a Comment