युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । गत महिनामात्रै आफ्नै विद्यालयका शिक्षकले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेका ८ वटा घटना सार्वजनिक भए । शिक्षकले नै ज्यादती गर्न थालेपछि त्यसको प्रतिरोधमा छात्राहरु स्वतस्फूर्त उठेपछि यी घटना सार्वजनिक भएका हुन् । तर अधिकांश ठाउँमा छात्राले विद्यालय प्रशासनबाटै स्वाभाविक रुपमा पाउनुपर्ने समर्थन भने पाएनन् ।

त्यसविरुद्ध विद्यालयहरुमा नाराबाजी, तालाबन्दी, तोडफोड, मोसो दल्ने जस्ता घटनाहरु भइरहेका छन् । मोरङको लेटाङमा यौन दुर्व्यवहारका आरोपितलाई नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि उत्तेजित भिडले आक्रमण गर्दा एकजना महिला प्रहरीको मृत्यु नै भयो ।

घटना १

चितवन, नारायणगढको बालकुमारी माध्यमिक विद्यालयका शिक्षक शशीधर गैरेलाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरुले चैत ३ गते मोसो दले । गैरेले छात्राहरुलाई पटक–पटक दुर्व्यवहार गरेको उजुरी सुनवाइ नभएपछि उनको कर्तुत बाहिर ल्याउन मोसो दलेको विद्यार्थीहरुले बताएका थिए ।

घटना २

चितवनकै माडी नगरपालिका–१ स्थित सोमेश्वर उच्च माविका लेखा शिक्षक सुरज लामिछाने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चैत ५ गते पक्राउ परे ।

उनले २९ फागुनमा कक्षा ९ की एक छात्रालाई दुर्व्यवहार गरेपछि पीडितसहित अन्य छात्राछात्रले विद्यालयका दुई शिक्षिकालाई बताएका थिए । तर, ती महिला शिक्षकहरुले यो विषयमा विद्यालय बाहिर हल्ला नगर्न चेतावनी दिएको विद्यार्थीहरुले बताएका थिए  ।

उनीहरुका अनुसार, शिक्षक लामिछानेले त्यसअघि पनि पटक–पटक यौन दुर्व्यवहार गरेका थिए । त्यसबारे विद्यार्थीहरुले उजुरी लेखेर राखेको पेटीका विद्यालय प्रशासनले खोल्दै खोलेन । त्यसपछि विद्यार्थीहरुले ४ चैतमा इलाका प्रहरी कार्यालय, माडीमा शिक्षक लामिछानेविरुद्ध उजुरी दिएका थिए ।

घटना ३

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका मोरङको लेटाङ नगरपालिका–५, खेरुवाको शिक्षा विकास माविका शिक्षक मनोज पौडेललाई चैत ६ गते पक्राउ गर्न जाँदा पहिल्यैदेखि प्रदर्शन गरिरहेको आक्रोशित भिडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो ।

कक्षा ६, ७ र ८ लाई सामाजिक र नैतिक शिक्षा पढाउने पौडेलले २०७३ सालयता गरेका तीनवटा यौन दुर्व्यवहारको घटनालाई मिलापत्रबाट सामसुम परिएको तथ्य सार्वजनिक भएको छ ।

घटना ४

चैत ११ गते झापाको हल्दिबारी गाउँपालिका गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीका शिक्षक श्रीप्रसाद सिवाकोटी (सन्दीप) यौन दुर्व्यवहारको आरोपमा पक्राउ परे । १३ वर्षीया छात्रालाई यौनजन्य  दुर्व्यवहार गरेको आरोप उनलाई लागेको हो ।

परीक्षा सकेर घर जान लागेकी छात्रालाई शिक्षक सिवाकोटीले दुर्व्यवहार गरेको थाहा भएपछि अभिभावक, विद्यार्थी सबैले आरोपित शिक्षकलाई तत्काल कानुनी कारबाहीको माग गर्दै विद्यालय घेराउ गरेका थिए । त्यसक्रममा आक्रोशित भिडले विद्यालयको स्कुल बस तोडफोड गरेको थियो ।

घटना ५

मकवानपुरको बागमती गाउँपालिका–८, फापरबारीको जनता माविका शिक्षकले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै चैत २२ गते विद्यार्थीले विद्यालय तोडफोड र तालाबन्दी गरे ।

तीनजना शिक्षकले कक्षा ४ देखि ८ सम्मका छात्राहरुलाई यौनजन्य दुर्व्यवहार गरेको आरोप छ । त्यसबारे फागुन ११ गते अभिभावक र फागुन २० गते विद्यार्थीहरुले विद्यालय प्रशासनमा मौखिक उजुरी दिएका थिए ।

चैत ७ गते विद्यार्थी र अभिभावकको संयुक्त लिखित उजुरी परेपछि विद्यालय प्रशासन र व्यवस्थापन समितिले छानबिन गरेको थियो । छानबिनमा कमजोरी भेटिएपछि ती शिक्षकहरुलाई निलम्बन गरिएको थियो । तर, त्यस्ता शिक्षकलाई निलम्बन होइन, निष्काशन गर्नुपर्ने भन्दै विद्यार्थीहरु तोडफोडमा उत्रिएका थिए । त्यसपछि प्रहरीमा उजुरी परेर ती शिक्षकहरु पक्राउ परेका छन् ।

घटना ६

चितवनको भरतपुर महानगरपालिका–१३ को श्री गंगानगर माविका शिक्षकद्वय फणिन्द्र भट्टराई र विमलप्रसाद देवकोटा कक्षा ४ र ६ का छात्राहरुलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा चैत २५ गते पक्राउ परे । उनीहरुको कक्षा कोठामा गर्ने व्यवहारबारे बालिकाहरुले सुनाएपछि अभिभावकहरुले प्रहरीमा उजुरी गरेका थिए ।

सञ्चार माध्यम र सामाजिक सन्जालबाट सार्वजनिक भएका एकपछि अर्को घटना विवरणले हिंसा सहेर बसेका पीडितहरुमा प्रतिकार गर्ने हिम्मत जुटाइदिएको मनोविज्ञ गोपाल ढकाल बताउँछन् ।

घटना ७

खोटाङको दिक्तेलस्थित महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य यौन दुर्व्यवहारको आरोपमा चैत २९ गते पक्राउ परे । उनले पटक–पटक यौन दुर्व्यवहार गरेको शिक्षालयका छात्राहरूले आरोप छ ।

घटना ८

नवलपरासीको गैंडाकोटस्थित जनक उमाविको कक्षा १२ की एक छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार भएको भन्दै वैशाख ४ गते विद्यार्थीहरु आन्दोलनमा उत्रिए । त्यसक्रममा विद्यालय तोडफोड नै भयो ।

किन हुन्छ शिक्षकबाटै दुर्व्यवहार ?

शिक्षक र विद्यार्थीबीच निकट सम्बन्ध हुन्छ । विद्यार्थीले घरपछि धेरै समय विद्यालयमा बिताउँछन् । शिक्षकप्रति उच्च सम्मान र विश्वास हुन्छ । तर तिनै शिक्षकबाट किन निकृष्ट व्यवहार भइरहेको छ त ?

‘बालिकाहरुलाई नै दुर्व्यवहार गर्नुले शिक्षकमा यौनकुण्ठा त देखियो नै’, मनोविज्ञ गोपाल ढकाल भन्छन्, ‘यस्तो विचलनमा पारीवारिक समस्या पनि कारक हुनसक्छ ।’

अर्का मनोविज्ञ करुणा कुँवर शिक्षकमा नियतै खराब भएपछि यस्ता घटना हुने बताउँछिन् । ‘कतिपय शिक्षकमा पितृसत्तात्मक सोंच हुन्छ’, उनी भन्छिन्, ‘मैले जे गरे पनि बोल्न सक्दैन भन्ने नियत राखेर दुर्व्यवहार भइरहेको छ ।’

अभिभावक महासंघ, नेपालका अध्यक्ष सुप्रभात भण्डारी शिक्षकबाटै भइरहेको यौन दुर्व्यवहारको कारणहरुबारे गहिरो अध्ययन जरुरी देख्छन् । ‘अब त शिक्षक सेवा आयोगले शिक्षक छनोट गर्दै आचरण पनि अध्ययन गर्नुपर्ने भयो’, उनी भन्छन्, ‘पछिल्लो एक महिनाकै घटनाहरुले शिक्षक छनोटमा विशेष ध्यान दिनुपर्ने देखायो ।’

चेतनाले प्रतिकार

गत चैत एक महिनामा बिभिन्न विद्यालयमा भएका यौन दुर्व्यवहारका घटनाहरु विद्यार्थी र अविभावकहरुको चर्को प्रयासपछि मात्र सार्बजनिक भएका हुन् । शिक्षकको दुर्व्यवहारबाट प्रताडित भएका कतिपय छात्राले अर्को विद्यालयको घटना सुनेपछि विरोध गर्ने आँट गरेको देखिन्छ ।

सञ्चार माध्यम र सामाजिक सन्जालबाट सार्वजनिक भएका एकपछि अर्को घटना विवरणले हिंसा सहेर बसेका पीडितहरुमा प्रतिकार गर्ने हिम्मत जुटाइदिएको मनोविज्ञ ढकाल बताउँछन् ।

नेपाली समाजमा यौन हिंसाका पीडितलाई साथ दिने भन्दा लाञ्छना लगाउनेहरु बढी हुने भएकाले ज्यादती सहेर बस्नेको संख्या धेरै भएको उनको अनुमान छ । हालका दिनमा विश्वव्यापी बनेको ‘मी टु’ अभियान पनि कुनै एक पीडितले साहस जुटाएपछि सुरु भएको बताउँदै ढकाल भन्छन्, ‘यस्तोमा एक जनाले उठाएको आवाजले अरुलाई पनि आँट दिन्छ ।’

अधिवक्ता सरिता तिवारी पनि मिडियाबाट पक्षधरतासहित सार्वजनिक भएको घटना विवरणले अरु पीडितमा प्रतिकारको चेतना बढाउने बताउँछिन् । ‘यस्ता अपराधका घटनालाई भित्रभित्रै सामसुम पार्ने प्रयास हुँदा विरोध चर्कनु, उजुरी पर्नुमा चेतनाले काम गरेको हो’, उनी भन्छिन्, ‘माडीमा भएको यौन दुर्व्यवहारको घटना जति लुकाउन खोजे पनि सकेनन् ।’

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर यौन हिंसाविरुद्ध अहिले विद्यार्थीहरु मिलेर विद्रोह गरिरहेको बताउँछन् । ‘यस्ता घटनाविरुद्व अभिभावकको साथ पाउनु निकै सकारात्मक कुरा हो’, उनी भन्छिन् ‘केही वर्ष अघिसम्म त बालिकाको बिहे नहुने, इज्जत जाने डरले अविभावक नै पीडितको मुख थुनेर बस्थे ।’

नीलबाराही माविकी प्रधानाध्यापक डा. जानुका पौडेल अहिलेका किशोरावस्थाका बालिकाहरु यौनजन्य दुर्व्यवहारबारे जानकार र सचेत रहेको बताउँछिन् । ‘शिक्षकले नियतबस नगरे पनि दुर्व्यवहार महसुस भए प्रतिकार गर्न सक्ने भएका छन्’, उनी भन्छिन्, ‘त्यसैले यस्ता घटना धमाधम सार्वजनिक भइरहेको हो ।’

किन मिलाउन खोज्छन् विद्यालय ?

पटक–पटक माफी दिइएको वा यौन हिंसाको आरोपपछि सरुवा भएका शिक्षकले पुनः यौन हिंसा गरेको पाइएको छ । यस्ता गम्भीर अपराधका आरोपीलाई विद्यालयहरु किन सहजै माफी दिएर चोखाउन खोज्छन् ?

‘पुरुष प्रअले पुरुषको नजरबाट हेर्दा दोषी नदेखिएको हुनसक्छ अथवा सामान्य लाग्न सक्छ’, नील बाराही माविकी प्रधानाध्यापक डा. पौडेल भन्छिन्, ‘यस्तो गम्भीर आरोपमा पनि जोगाउन खोज्नुको योबाहेक अर्को कारण म देख्दिनँ ।’

विद्यालय तहमा हुने हिंसा अन्त्यका शिक्षा विभागले ‘गुनासो सुनुवाइ कार्यविधि, २०७४’ ल्याएको छ । विद्यालयमा, विद्यालय आउँदा–जाँदा र समुदायमा बालबालिकामाथि हुने वा हुन सक्ने भेदभाव, शारीरिक, भावनात्मक तथा यौन दुर्व्यवहार, शोषण, लैंगिक हिंसा शारीरिक वा मानसिक दण्डसजाय, बुलिङलगायत जोखिमको निर्धारित संयन्त्र, विधि र प्रक्रिया अनुरुप न्यूनीकरण गर्नु यो कार्यविधिको मुख्य उद्देश्य हो ।

कार्यविधिअनुसार हरेक विद्यालयले गुनासो सुनुवाइ पेटिका राख्नु र गुनासो सुनुवाइ समिति गठन गर्नुपर्नेछ । समितिमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको महिला सदस्य/संस्थागत तथा वैकल्पिक विद्यालयको हकमा संस्थापक, गुठियार वा निजले तोकेको प्रतिनिधि संयोजक, विद्यालयको प्रधानाध्यापक, शिक्षक अभिभावक संघको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, विद्यालय बालक्लब वा सो नभए विद्यार्थीले आफूहरुमध्येबाट छनोट गरिएका विद्यार्थी प्रतिनिधि दुईजना (छात्र र छात्रा) सदस्य सम्बन्धित गाउँपालिका वा नगरपालिकाको न्यायिक समितिले तोकेको सम्बन्धित वडाको महिला सदस्य/संस्थागत विद्यालयको हकमा अभिभावकको प्रतिनिधि एक जना, गुनासो सुन्ने शिक्षक सदस्य सचिव रहने व्यवस्था छ ।

समितिले प्रकृतिको आधारमा गुनासो वर्गीकरण गरी स्थानीय प्रहरी, गाउँपालिका वा नगरपालिकाको न्यायिक समिति, स्थानीय तहको महिला तथा बालबालिका विषय हेर्ने शाखा वा सम्बन्धित अन्य निकायसमक्ष पठाउनुपर्छ ।

तर विद्यालयमा भएका यस्ता समितिहरुले सकेसम्म आन्तरिक रुपमा मिलाउने गरेको सार्वजनिक भएका घटनाहरुले देखाउँछन् । मोरङको लेटाङ–५ खेरुवाको शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले २०७३ सालपछि गरेका तीन वटा यौन दुर्व्यवहारमा माफी पाएको भेटिएको छ ।

त्यस्तै, पटक–पटक यौन दुर्व्यवहार गरेका चितवन, नारायणगढको बालकुमारी माविका शिक्षक शशिधर गैरेलाई फेरि माफी मगाउने प्रपञ्च हुँदा चैत ३ गते विद्यार्थीहरुले मोसो दलेपछि घटना सार्वजनिक भएको थियो ।

चितवनकै माडी नगरपालिका–१ स्थित सोमेश्वर उच्च माविको घटनामा पनि सोही प्रवृत्ति देखियो । लेखा विषयका शिक्षक सुरज लामिछानेले यौन दुर्व्यवहार गरेपछि विद्यार्थीहरुले निवेदन राखेको उजुरी पेटिका नै खोलिएन ।

शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर पुरुषवादी चिन्तनका कारण बालिका अथवा महिलामाथि हुने यौनजन्य दुर्व्यवहारलाई सामान्य मानेर मिलाउने प्रयास हुने गरेको बताउँछिन् । ‘यस्तो गम्भीर किसिमको मद्दालाई प्रधानाध्यापकले नै सामान्यीकरण गर्न खोजेको देखिन्छ’, उनी भन्छिन् ‘पुरुषवादी चिन्तन भएकालाई यौन दुर्व्यवहार सामान्य लाग्छ । विद्यालयहरुमा त्यो प्रवृत्ति देखिन्छ ।’

अधिवक्ता सरिता तिवारी सामाजिक मनोविज्ञान पनि पुरुषकै पक्षमा भएकाले यस्ता घटना लुकाउने प्रयास हुने गरेको बताउँछिन् । ‘कतिपय पुरुषमा हिंस्रक प्रवृत्ती हुन्छ’, उनी भन्छिन् ‘अरु पुरुष पनि त्यो प्रवृत्तीमाथि पर्दा हाल्न लागेको देखिन्छ ।’

शिक्षकको भूमिका कस्तो हुनुपर्छ ?

शिक्षा नियमावली, २०५९ को परिच्छेद २२ मा शिक्षक आचारसंहिता उल्लेख छ । त्यसअनुसार, शिक्षकले विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन अध्यापनलाई आफ्नो मुख्य लक्ष्य सम्झनुपर्छ , आज्ञाकारिता, अनुशासन, सदभावना, सहयोग, सदाचार, सहानुभूति, धैर्य र सच्चरित्रतालाई प्रोत्साहन गर्नुपर्छ ।

तर, एक पछि अर्को शिक्षकबाटै भएका यौन दुर्व्यवहार भएको घटना सार्वजनिक भइरहँदा कडा कारबाहीको व्यवस्था हुनुपर्ने अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् । पीडक शिक्षकलाई कडा सजाय भयो भने यस्तो प्रवृत्ती घट्ने उनी बताउँछन् ।

यस्ता अपराधिक मनोवृत्तीका शिक्षकलाई सरुवा गरेर होइन, पेशाबाट निस्काशित हुनपर्ने शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर बताउँछिन् । उनी भन्छिन् ‘त्यो गर्नैपर्ने देखियो ।’

यौनजन्य दुर्व्यवहार गर्ने शिक्षकलाई विद्यालयले निस्काशन गर्न सक्ने व्यवस्था छैन । ‘कि ती पिडक जेल नै जानुपर्यो, नत्र पेशामा रहिरहने अवस्था छ’, नील बाराही माविकी प्रधानाध्यापक डा. जानुका पौडेल भन्छिन् ‘त्यसैले बढीमा सरुवा हुने र अर्को विद्यालयमा उही कृत्य दोहोर्याउने अवस्था छ ।’ यो अवस्था कायम राख्दा लेटाङको जस्तो घटना निम्तिने सम्भावना प्रवल हुने उनको आशंका छ ।

हुन पनि, गत एक वर्षमा जबरजस्ती करणी अपराधमा १६ शिक्षक समातिएको नेपाल प्रहरीको तथ्यांक छ । उजुरी नै नपरेका यस्ता घटना योभन्दा दोब्बर हुनसक्ने प्रहरीका प्रवक्ता विष्णु कुमार केसी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर