काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साथी बनाउँदा आफुलाई छुरी रोपेको आरोप लगाएका छन् ।
बिहीबार चितवनका माओवादी नेता यमबहादुर परियारलाई एमाले प्रवेश गराउँदै ओलीले प्रचण्डले अंगालो मारेर छुरी रोपेको बताएका हुन् ।
‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । हात मिलाएको मात्र होइन, मैले अँगालो हालेको थिएँ, ‘प्रचण्ड हात लुकाईलुकाई हिँड्थे, म अलिकति सचेत थिएँ। नभन्दै मैले अँगालो मारेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे’, ओलीले भने ।
नेकपाबाट निकाल्ने काम गरेकोमा आक्रोश पोख्दै सो आरोप लगाउँदै उनले २०७४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गरेका एमाले र माओवादीले २०७५ जेठ ३ गते पार्टी एकता गरेका थिए । एकतापछि पार्टीको नाम नेकपा राखियो भने ओली र प्रचण्ड दुवैजना अध्यक्ष बनेका थिए । तर, २०७७ पुस ५ मा प्रधानमन्त्री रहेका ओलीले संसद विघटन गरेपनि नेकपाभित्र विवाद चुलियो । विवादकैबीच बहुमत सदस्यले ओलीलाई हटाएको घोषणा गरेका थिए ।
‘म एकता, एकीकरण भन्ने, प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने,’ ओलीले भने । आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको उनले बताए । नेकपालाई फागुन २३ मा सर्वोच्च अदालतले भंग गरिदिएपछि दुई पार्टी अलग भएका छन् ।

Leave a Comment