Latest News
Kathmandu

हस्तकलाको सीप पुस्तान्तरण गर्न सरकारको सहयोग हुन्छः प्रधानमन्त्री 

हस्तकलाको सीप पुस्तान्तरण गर्न सरकारको सहयोग हुन्छः प्रधानमन्त्री 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली हस्तकलाको मौलिक सीपलाई पुस्तान्तरणका लागि सरकारको तर्फबाट सार्थक सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको मौलिक सीपका रुपमा रहेको हस्तकला सीप आगामी पुस्तामा नजाने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको बेला प्रधानमन्त्रीले पुस्तान्तरणका लागि सरकारकातर्फबाट आवश्यक सहयोग रहने बताउनुभएको हो ।

नेपाल हस्तकला महासङ्घको ४२औँ साधारणसभालाई उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई थप विस्तार गर्दै आर्थिक विकासका लागि सहजीकरण गरिने बताउनुभयो ।

“हस्तकला क्षेत्र नेपालका लागि अग्र्यानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो”, प्रधानमन्त्रीले भन्नुभयो, “यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने व्यापार घाटा कम गर्दै नेपाली मौलिकतालाई विश्वभर प्रचार र विस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्न प्रतिबद्ध छ ।”

प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन । मैले मन्त्रिपरिषदको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु । सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसद्को सम्बोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु ।”

“यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा म प्रतिबद्ध छु । यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “म तेस्रोपटक प्रधानमन्त्री भएको छु । यो मेरा लागि परीक्षा पनि हो । म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ ।”

उहााले निर्वाचनले आफूहरुलाई मिलेर जाने जनमत दिएको भन्दै कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले नदिएको स्पष्ट पार्नुभयो । इमान्दार भएर जनताको पक्षमा राम्रो काम नगरे परीक्षामा पास हुन नसकिने बताउनुभयो ।

हस्तकला व्यवसाय प्रवद्र्धनका निम्ति पाठ्यक्रममै केही विषय राख्नु राम्रो हुने प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ । यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ । यसकारण पाठ्यक्रममा नै हस्तकला उद्योगका विषय राख्ने माग सकारात्मक छ, म पहल गर्छु ।”

साधारणसभामा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको क्षेत्रलाई प्रवद्र्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तु निर्यात गर्न सकिनेमा जोड दिँदै हस्तकलाको क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नुवाकोटका सबै क्रसर अवैध 
पछिल्लो समाचार →
पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब विप्रेषण   

Leave a Comment

Your email address will not be published. Required fields are marked *