Latest News
Kathmandu

उपचार खर्च जुटाउन नसक्दा धनबहादुर ओछ्यानमै   

उपचार खर्च जुटाउन नसक्दा धनबहादुर ओछ्यानमै   

कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान पर्नुभएको छ । आन्द्रामा अबुद्र्धरोग (क्यान्सर) लागेका उहाँको अर्थावस्था कमजोर हुँदा उपचार खर्च जुटाउन सक्नुभएको छैन ।

“आन्द्रामा समस्या देखिएपछि चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गरायौँ”, पीडित चौधरीका छोरा लक्ष्मणले भन्नुभयो, “आफन्त, चिनेजानेका व्यक्तिबाट रु चार लाख ५० हजार जम्मा गरी खर्च गरेर उपचार गरायौँ, उपचारपछि हिँडडुल गर्न सक्ने हुनुभयो ।”

“अस्पतालको सल्लाहमा भारतमा थप उपचारका लागि लग्न भनेपछि लग्यौँ”, उहाँले भन्नुभयो, “उपचार गराउनकै लागि ७० हजार भारतीय रुपैयाँ ऋण गरेर उपचार गरायौँ, जाँच गर्दा आन्द्रामा क्यान्सर देखियो ।”

क्यान्सर देखिएपछि अझै उपचार गर्नुपर्ने भएकाले रकम अभाव भएको उहाँको भनाइ छ । उपचार खर्च नहँुदा चौधरी परिवारले धनबहादुरको उपचार गराउन सक्नुभएको छैन । घरमा कमाउने भनेकै धनबहादुर हुन् । उहाँले बोरिङ गाड्ने ठेक्का लिएर काम गर्दै आउनुभएको थियो । सोही रकमबाट रहेका दुई छोरा र श्रीमतीको खर्च धान्दै आएका थिए ।

घरका एक्ला कमाउने व्यक्ति ओछ्यान परेपछि परिवारलाई दुई छाक जोहो गर्न मुस्किल भएको पीडित धनबहादुरका साला रमेश चौधरीले बताउनुभयो । “जग्गाका नाममा घरबासका लागि मात्रै जग्गा छ”, उहाँले भन्नुभयो, “त्यसमा बनेको सानो झोपडीमात्रै सम्पत्तिका रूपमा रहेको छ, उपचार खर्च अभाव भएपछि दातृ निकायलाई गुहार्दै हिँडेका छौँ ।” बजार क्षेत्रमा व्यानरसहित सहयोग रकम जुटाउन लागे पनि उपचारका लागि पुग्ने खर्च जुट्न नसकेको उहाँले बताउनुभयो ।

“दाताहरूको सानो सहयोगले भिनाजुको ज्यान जोगिन्थ्यो”, उहाँले भन्नुभयो, “त्यसका लागि सबै निकाय, व्यक्ति, सङ्घसंस्थालाई सहयोगको याचना गर्दै हिँडेका छौँ ।” नगरपालिका र प्रदेश सरकारसँग सहयोग रकम माग्नका लागि आवश्यक कागजपत्र बुझाए पनि सहयोग रकम भने अहिलेसम्म पाउन नसकिएको उहाँको गुनासो छ ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सोनाम ल्होसार पर्व मनाइँदै   
पछिल्लो समाचार →
सीप बेच्ने बजार अभाव  

Leave a Comment

Your email address will not be published. Required fields are marked *