Latest News
Kathmandu

सिसाको पुल र साइकल ट्र्याक निर्माण सुरु 

सिसाको पुल र साइकल ट्र्याक निर्माण सुरु 

प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्र्याक निर्माणको कार्य सुरु गरिएको छ । पर्यटकलाई थप आकर्षित गर्नका लागि नगरपालिकाले कन्याममा एक सय ५० मिटर लामो सिसाको पुल निर्माणको थालनी गरेको छ ।

नगरप्रमुख रणबहादुर राईले मङ्गलबार उक्त आयोजनाको शिलान्यास गर्नुभयो । उहाँले भन्नुभयो, “नगरको गौरवको आयोजनाका रूपमा देशमै पहिलो पटक उक्त सिसाको पुलको निर्माण सुरु गरेका छौँ ।” राईले पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपिएको बताउनुभयो । उहाँका अनुसार दीर्घकालीन आयआर्जनको स्रोत पर्यटन हो ।

सिसाको पुलसहितको साइकल ट्र्याक निर्माणले यस क्षेत्रका स्थानीयको आयस्तरमा सुधार हुने विश्वास राखिएको छ । प्रदेश सरकारको नवप्रवद्र्धन साझेदारी कोष र नगरपालिकाको संयुक्त लगानीमा दुई वर्षभित्रमा यी आयोजनाको काम सम्पन्न हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार सो आयोजनाका लागि नगरपालिका र प्रदेश सरकारको नवप्रवद्र्धन साझेदारी कोषको गरी रु सात करोड ९३ लाख ६४ हजार लागत रहेको छ । आगामी २०८१ माघमा काम सम्पन्न गर्ने गरी बिएस कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएर काम सुरु गरेको हो । अत्याधुनिक शैलीमा निर्माण गरिने उक्त सिसाको पुल देशकै लामो भएको नगरपालिकाले दाबी गरेको छ । एक सय ५० मिटर लामो उक्त पुल निर्माण भएपछि पर्यटकले पुलबाट सहजै नेपाल र भारतका विभिन्न भूभागको अवलोकन गर्न पाउनेछन् ।

यस्तै नगरपालिका र प्रदेश सरकारको नवप्रवद्र्धन साझेदारी कोषको गरी रु ५५ लाख ५० हजारको लागतमा २०७९ असार मसान्तसम्ममा सक्ने गरी १३ दशमलव पाँच किलोमिटर साइकल ट्र्याक निर्माणका लागि राजलवट निर्माण सेवाले ठेक्का सम्झौता गरी काम सुरु गरेको नगरपालिकाले जनाएको छ ।

पुल र साइकल ट्र्याक सञ्चालनमा आएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागबेली पथमा यात्रा गर्न पाउनेछन् । पर्यटकलाई नयाँपन दिनका लागि नयाँ योजना सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सूर्योदय–६ को कन्याममा रहेको डुँडे गैरादेखि सूर्योदय–११ को पूर्णेडाँडासम्म साइकल ट्र्याक निर्माण हुनेछ । नगरप्रमुख राईले पर्यटकको रोजाइमा रहेको सूर्योदयमा ग्लास ब्रिज र साइकल ट्र्याक निर्माणले देशभरका पर्यटकको ध्यान तान्ने बताउनुभयो ।

परियोजनाअन्तर्गत सूर्योदय–६ को कन्याममा रु ५९ लाख ८३ हजारको लागतमा साझा सुविधा केन्द्र निर्माण गरिनेछ । जहाँ ताजा सागसब्जी र तरकारीको सङ्कलन र बिक्री केन्द्र रहनेछ । यस्तै परियोजनाले लोपोन्मुख लेप्चाजातिको फेन्सिङ गुम्बाको मर्मत गरिनेछ । परियोजनाले मन्यूमेन्ट पार्क र हेल्थ पार्कसमेत निर्माण गरेको छ । उक्त परियोजनाभित्रै कन्याम लगायतका स्थामा चारवटा शौचालय निर्माण गरिनेछ । उक्त परियोजनाले पर्यटन क्षेत्रलाई थप व्यावसायिक बनाउनका लागि अग्र्यानिक उत्पादनसम्बन्धी सचेतना कार्यक्रम, स्थानीय खाद्य परिकार तयारीसम्बन्धी र जैविक मल उत्पादनसम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरिसकेको छ ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आगलागी पीडितलाई मन्त्रीको सहयोग  
पछिल्लो समाचार →
हिउँ पहिराले कर्णाली राजमार्ग अवरुद्ध   

Leave a Comment

Your email address will not be published. Required fields are marked *