Latest News
Kathmandu

तीन लाख भेडाबाख्रालाई पिपिआर खोप

तीन लाख भेडाबाख्रालाई पिपिआर खोप

नुवाकोट र रसुवामा जारी रहेको पिपिआर खोप अभियानमा करीब तीन लाख भेडाबाख्रालाई खोप लगाइने भएको छ ।

नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र नुवाकोटले यही फागुन ७ गतेसम्म सञ्चालन गर्ने खोप कार्यक्रममा आफूले पालन गरेका भेडाबाख्रालाई पिपिआर (हैजा) रोगविरुद्धको खोप कार्यक्रममा सहभागी गराउन केन्द्र प्रमुख भरत पाण्डेले किसानलाई आग्रह गर्नुभयो ।

उहाँका अनुसार नुवाकोटका दुई लाख ३५ हजार र रसुवाका ३१ हजार भेडाबाख्रालाई खोप लगाउन दुई जिल्लामा रहेका १७ स्थानीय तहका पशुसेवा शाखा प्रमुखको समन्वयमा ६० जना भ्याक्सिनेटर (खोपकर्ता) परिचालन गरिएको छ ।

“अभियानका क्रममा भेडाबाख्राको खोरमा नै पुगेर खोप लगाउन भ्याक्सिनेटर खटाइएको छ”, केन्द्र प्रमुख पाण्डेले भन्नुभयो, “थोरै सङ्ख्यामा पालन गर्ने किसानका लागि तोकिएको केन्द्रसम्म ल्याउन अनुरोध गरिएको छ, कम्तिमा २० सम्म भेडाबाख्रा पालन गर्ने किसानको खोरमा नै पुगेर खोप लगाउने व्यवस्था मिलाएका छौं ।”

भेडाबाख्रामा देखिने श्वासप्रश्वासको समस्या समाधानका लागि पिपिआर रोग विरुद्धको खोप दिन थालिएकाले सबै किसानलाई सहभागी हुन र गराउन खोप कार्यक्रम अभियानका रुपमा एकैसाथ सबै स्थानमा सञ्चालनमा ल्याइएको विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा बब्लु ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार भेडाबाख्रामा महामारीका रुपमा फैलने र प्राणघातक मानिएको पिपिआर रोगको उपचारसमेत सम्भव नहँुदा रोगबाट बचाउन खोप लगाउनु नै एकमात्रै उपाय मानिने गरिएको छ ।

“जन्मेको तीन महिना पूरा भएका (गर्भवती तथा सुत्केरी भेडाबाख्रालाई समेत) खोप लगाइने भए पनि स्वास्थ्यमा समस्या भएकालाई खोप लगाउन हुँदैन”, पशु चिकित्सक डा ठाकुरले भन्नुभयो, “नेपालमा नै बनेको र वर्षौंदेखि सफल कार्यान्वयनमा आइसकेकाले पिपिआर खोप शत्प्रतिशत सुरक्षित छ, आफूले पालन गरेका भेडाबाख्रालाई ढुक्क भएर खोप कार्यक्रममा सहभागी गराउन किसानलाई आग्रह गर्दछाँै ।”

पिपिआर रोग सङ्क्रमित भेडाबाख्रामा कडा किसिमको ज्वरो आउने, सिङ्गान बगाउने, आँखामा ¥याल काढ्ने, चिप्रा (कचेरा) देखिने, पातलो दिसा गर्ने मुख तथा गिजामा पानीका फोका जस्ता घाउ आउने र पछि उक्त घाउ फुटी पाप्रा बन्ने लगायतका लक्षण देखिने भएकाले रोगबाट सुरक्षित गर्न खोप लगाउनु नै एकमात्रै उपाय भएको उहाँको भनाइ छ ।

यो रोग लागेमा चौबिस घण्टादेखि एक साताभित्र प्राणसमेत जाने भएकाले किसानलाई पशुधनको रक्षा गर्न, पशुपालन पेसामा टिकाइराख्न र व्यावसायिक रुपमा निरन्तरता दिने वातावरण सुनिश्चित गर्न भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रम बागमती प्रदेश सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अभियानका रुपमा प्रदेशका सबै जिल्लामा सञ्चालन भइरहेको जनाएको छ ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
  सभामुख घिमिरे र उप सभामुख रानालाई झापामा स्वागत   
पछिल्लो समाचार →
पोखराको परिचय थप्दै ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’   

Leave a Comment

Your email address will not be published. Required fields are marked *