पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा रोमाञ्चक जित दर्ता गरेको छ । स्टार फरवार्डत्रय लियोनेल मेस्सी, केलियन एमबाप्पे र नेयमारले गोल गरेपछि पिएसीको जित भएको हो ।
घरेलु मैदानमा पिएसजीले लिलमाथि ४–३ को रोमाञ्चक जित हात पारेको हो । पिएसजीको जितमा एमबाप्पेले दुई तथा नेयमार र मेस्सीले समान एक गोल गरे । लिलका बाफोड डियाकिट, जोनाथन डाभिड र जोनाथन बाम्वाले गोल फर्काए ।
पार्क डेस प्रिन्सेसमा आइतबार राति गोलको वर्षा भएको खेलको ११औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले नेयमारको पासमा गोल गर्न सफल भएका थिए ।
१७औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले भिटिन्हाको पासलाई सदुपयोग गरेका थिए । २४औं मिनेटमा बाफोड डियाकिटले आन्द्रे गोमेसको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए ।
५८औं मिनेटमा जोनाथन डाभिडले पेनाल्टीमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । ८७औं मिनेटमा एमबाप्पेले व्यत्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीलाई खेलमा ३–२ ले अघि बढाए ।
यसपटक एमबाप्पेले जुआन बर्नाटको पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा मेस्सीले फ्रिकिकमा सिधै गोल गर्दै पिएसजीलाई ४–३ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित दिलाए ।
यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २४ खेलबाट ५७ अंक पुगेको छ । पराजित लिल ४१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Leave a Comment