प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै आन्दोलनरत पहिचानवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशमै आएको बेला विभिन्न कार्यक्रममा अवरोध प्रयास गरे । कतिपय स्थानमा त उनीमाथि आक्रमणको प्रयाससमेत भयो ।
चार दिन लामो कोशी प्रदेशको बसाई एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि त्यति सुखद रहेन । बरु, प्रदेशको नाम कोशी खारेजको माग राखेर उनै ओलीमाथि भएको आक्रमणले केन्द्रमा बहस सिर्जना गर्यो । ठूला पार्टीबीच आरोप प्रत्यारोप भयो । सामाजिक सञ्जालमा पहिचानवादीको आन्दोलन कसले गरेको वा कसले भड्काएको भन्नेसम्मका आरोप र खोजबिन भयो ।
वैशाख १३ गते झापाको बुद्धशान्ति गाउँपालिकामा एमाले अध्यक्ष ओली र सुवासचन्द्र नेम्वाङलाई पहिचानवादीले कालो झण्डा देखाए । त्यसक्रममा प्रहरीसँग आन्दोलनकारीको झडप भयो । झडपमा परी एक प्रहरी घाइते हुँदा आन्दोलनकारी मित्र लिङ्देन र बुलेट किराँती पक्राउ परे । उनीहरू अझै हिरासतमै छन् ।
वैशाख १४ गते इलाम सदरमुकाम पुगेका एमाले अध्यक्ष ओलीविरुद्ध त्यहाँ पनि कालो झण्डा प्रदर्शन भयो । त्यसक्रममा ९ जना पक्राउ परे । यद्यपि उनीहरूलाई सोही दिन साँझ रिहा गरियो । ओली आउने थाहा पाएपछि इलामको गोदकमा पहिचानवादीले रुख ढालेर सडक अवरुद्ध बनाएका थिए ।
वैशाख १५ गते तेह्रथुमको आठराई गाउँपालिका पुगेका ओलीमाथि पुनः पहिचानवादीले कालोझण्डा देखाए । त्यसक्रममा एमाले कार्यकर्तासँग पहिचानवादीको भनाभन भयो । पहिचानवादीहरूले सोही साँझ पाँचथरको फिदिममा मशाल जुलुस प्रदर्शन गरे ।
वैशाख १६ गते एमाले अध्यक्ष ओली फर्कने क्रममा फिदिममा कालो झण्डा र नारा जुलुस प्रदर्शन भयो । ओलीलाई लक्षित गर्दै आन्दोलनकारीले निरन्तर निसाना बनाउँदा केन्द्रमा भने एमालेले पत्रकार सम्मेलन गरेरै सरकारले नै कोशी प्रदेशमा अराजकता मच्चाइरहेको आरोप लगायो । तर, एमालेले गत फागुन १७ गतेदेखि कोशी प्रदेशमा भइरहेको निरन्तरको आन्दोलन र झडपहरूलाई अहिलेसम्म अनदेखा गरिरहेको थियो ।

Leave a Comment