Latest News
Kathmandu

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

काठमाडौं । प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् ।

आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ-आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए ।

आजको बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएलगत्तै सहकारीको रकम हिनामिनामाथिको छानबिन रोकिएको र सहकारी पीडितहरु झन् पीडित भएको बताए ।

राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पनि सहकारीको विषयमा संसदीय छानबिन समिति गठनको माग गरे । ‘सहकारीको समस्या समाधानको सम्बन्धमा छानबिन समिति बनाऔं’ उनले भने ।

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागलाई ध्यान दिन सरकारलाई आग्रह गरे ।

जसपाका सांसद प्रदीप यादवले वीरगञ्जको सानो पाइला सहकारी संस्थाका बचतकर्ता पनि पीडित भएको भन्दै पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराए ।

आकस्मिक समय सकिएपछि शून्य समयमा प्रवेश गर्ने क्रममा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो स्थानबाट उठेका थिए । सभामुख घिमिरेले यथास्थानबाट बस्न र बैठक सन्चालनमा सघाउन आग्रह गरे । तर सांसदहरुले नमानेपछि आजको कार्यसूचीका सबै विषय उठाउँदै संसद बैठक स्थगित गरे ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
पछिल्लो समाचार →
काठमाडौंमा सुरु भयो राप्रपाको प्रदर्शन

Leave a Comment

Your email address will not be published. Required fields are marked *