Latest News
Kathmandu

योगाभ्यासले शारीरिक र मानसिकरूपमा थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्‍याउने : गृहमन्त्री

योगाभ्यासले शारीरिक र मानसिकरूपमा थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्‍याउने : गृहमन्त्री

काठमाडौँ  उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले देश र जनताको सेवामा अहोरात्र खटिने नेपाल प्रहरीलाई व्यस्त, चुनौतीपूर्ण र कठिन जीवनशैलीमा योगाभ्यासले शारीरिक र मानसिकरूपमा थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्‍याउने बताएका छन् ।

दशौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा बुधबार  प्रहरी मुख्यालय नक्सालमा आयोजित एक दिवसीय योग विज्ञान शिविरमा उनले योग तथा प्रणायामले प्रहरीको सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने उल्लेख गरे ।

व्यायामले शरीर र स्वस्थ मानसिकता एवम् निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिबद्धताको आवश्यकता रहेको उनले औँल्याए । स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबैभन्दा महत्त्वपूर्ण हुने स्मरण गर्दै गृहमन्त्री लामिछानेले भने, “योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौँ, हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौँ, हाम्रो एकाग्रता, सोच, चुस्तता, मानसिक र शारीरिक स्वास्थ्य देश र समाजका लागि महत्त्वपूर्ण हुन्छ । स्वस्थ मानसिकताका साथ अगाडि बढ्न सक्यौँ भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।”

गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि शारीरिक र मानसिक अवस्था दुरुस्त हुन जरुरी रहेको बताए । प्रहरी सङ्गठनको प्रत्येक व्यक्तिको निर्णय महत्त्वपूर्ण हुने बताउँदै उनले कानुनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने बताए ।  कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले योगले आत्मा र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग विज्ञान महत्त्वपूर्ण हुने बताए ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शिविरका माध्यमबाट योगको महत्त्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिवृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको अनुभूति गरेको बताए । उनले योगको सही अभ्यास र निरन्तरताका लागि यो कार्यक्रम सहायक सिद्ध हुने अपेक्षा गरिएको उल्लेख गरे ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेटः फाइनलमा कास्की र स्याङ्जा भिड्ने
पछिल्लो समाचार →
मेनपावरको आडमा गुण्डागर्दी, न्याय माग्न पुगेका पीडितलाई महेश बस्नेतको टोलीले गरे रामधुलाई

Leave a Comment

Your email address will not be published. Required fields are marked *