Latest News
Kathmandu

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

काठमाडौं

। राष्ट्रिय जेनजी पार्टी नेपालले आज आइतबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।

 

पार्टीका अनुसार हालै सम्पन्न जेनजी आन्दोलनलाई राजनीतिक रूपले संस्थागत गर्न, प्रतिक्रान्तिबाट जोगाउन र लोकतान्त्रिक निकास खोज्न नयाँ दल आवश्यक भएकाले दल गठन गरिएको हो ।
निर्वाचन आयोगले दलको नाम र चिन्हमा पुनर्विचार गर्न सुझाव दिएको छ । आयोगका निमित्त प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शमशेर जबराले नाम र चिन्हमा सुधार गर्न सुझाएका छन् । पार्टीको चिन्ह ‘डबल क्रस खुकुरी’ कायम गरिएको छ ।
दलको संघीय कार्यालय अनामनगरमा रहेको छ । विधानअनुसार पदाधिकारीले अधिकतम दुई कार्यकाल मात्रै गर्न पाउने र सबै तहमा ६५ वर्ष उमेर हद तोकिएको छ । पार्टीले सामाजिक उदारवादलाई राजनीतिक सिद्धान्त मानेको छ ।
राष्ट्रिय जेनजी पार्टीका मुख्य आधारस्तम्भहरू युवा, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक अल्पसंख्यकको अधिकार र गणतन्त्र रहेका छन् ।
दलको अध्यक्षमा ३२ वर्षीय किरण बिक चयन भएका छन् । बुटवलका निवासी बिक जेनजी आन्दोलनका सक्रिय अभियन्ता हुन् । उनी फिल्ममेकिङ र कानुनमा स्नातक तथा अर्बन प्लानिङमा स्नातकोत्तर गरेका छन् ।
पार्टीले एजेन्डा मिल्ने दल र समूहसँग सहकार्यको ढोका खुला राखेको जनाएको छ । निर्वाचन आयोगले आवश्यक कागजातसहित कार्तिक ९ गतेभित्र उपस्थित हुन निर्देशन दिएको छ ।
राष्ट्रिय जेनजी पार्टी नेपालले सम्पूर्ण जेनजी आन्दोलनका सहभागी, नागरिक र राजनीतिक दलहरूलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पछिल्लो समाचार →
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

Leave a Comment

Your email address will not be published. Required fields are marked *