काठमाडौं । वर्षको एक विशेष दिन हो–भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस। प्रेम, स्नेह र आत्मीयताको प्रतीक मानिने यो दिनलाई कसरी मनाउने भन्ने योजना धेरै जोडीहरूले केही दिनअघिदेखि नै बनाउन थाल्छन्। कोही उपहार साटासाट गर्छन्, कोही विशेष खाना र भेटघाटको योजना बनाउँछन्, त धेरैले रमणीय स्थलको भ्रमण रोज्छन्।

काठमाडौं आसपासका पार्कहरू
उपत्यकाभित्रका पार्कहरू डेटिङका लागि सबैभन्दा सजिला र लोकप्रिय गन्तव्य हुन्। कलंकीबाट करिब ६ किलोमिटर पश्चिममा रहेको त्रिभुवन पार्क हरियाली वातावरण, शान्त परिवेश र खुला स्थानका कारण जोडीहरूबीच लोकप्रिय छ। ठमेलस्थित ऐतिहासिक र सुन्दर गार्डेन अफ ड्रिम (स्वप्न बगैंचा) पनि डेटिङका लागि चर्चित स्थल हो। ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना र बालाजुस्थित बाइसधारा पार्क प्रेमिल भेटघाटका लागि रोजाइमा पर्ने स्थान हुन्।

धार्मिक स्थल वरपरका रमणीय क्षेत्र
स्वयम्भूनाथ स्तूप र पशुपतिनाथ मन्दिर आसपासका बनकाली र मृगस्थली क्षेत्र, साथै बागमती किनारमा रहेको युएन पार्क शान्त र रमणीय भेटघाटका लागि उपयुक्त स्थान हुन्।

सर्ट–ट्रिप गन्तव्य
यदि दिनभरको सानो यात्राले प्रेम दिवसलाई अझ विशेष बनाउन चाहने हो भने काठमाडौं नजिकैका डाँडा र ताल उपयुक्त विकल्प हुन सक्छन्। नुवाकोटको ककनी, नगराजुनको वाइट गुम्बा र चोभार प्राकृतिक सौन्दर्यका लागि चर्चित छन्।

ताल र हरियाली क्षेत्र
गोदावरी, टौदह र मकवानपुरको इन्द्र सरोवर सानो बजेटमै रमाइलो अनुभवका लागि उत्कृष्ट गन्तव्य हुन्।

हाइकिङ प्रेमीका लागि
शिवपुरी–नागार्जुन क्षेत्रको सुन्दरीजल र चिसापानी हाइकिङका लागि लोकप्रिय स्थल हुन्। यहाँ हरियाली जंगल, झरना र खोलाको रमाइलो अनुभव गर्न सकिन्छ।

सानो बजेट, ठूलो सम्झना
महँगो उपहार वा विलासी रिसोर्ट अनिवार्य छैन। साँचो मायाको अनुभूतिसँग बिताएको समय र सम्झनामा बस्ने क्षणहरूले दिनलाई विशेष बनाउँछ। भीडभाडभन्दा टाढा, प्रकृतिको काखमा बसेर प्रेम दिवसलाई अविस्मरणीय बनाउन सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित ख