काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा यसपटक प्रतिनिधिसभा सदस्यका लागि कुन्ती पोखरेल उम्मेदवार बनेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी पोखरेलले अघिल्लो चुनाव हारेपनि क्षेत्र नछोडेको दाबी गरेकी छन् ।
‘जितेर गएकाहरु क्षेत्र फर्केनन्, म हारेपनि घरदैलोमै छु,’ उनले भनिन्, ‘मतदाताको विश्वास जितेर यस पटक जित्छु।’
काठमाडौं–२ लाई उनले शहर र गाउँको मिश्रित क्षेत्र भन्दै माथिल्लो भेगमा सडक अभाव र तल्लो भेगमा किसानले मल–बिउ अभाव झेलिरहेको बताइन् । उनका अनुसार यो क्षेत्र न पूर्ण रूपमा शहरी छ, न ग्रामीण, त्यसैले सन्तुलित विकास आवश्यक छ ।
पोखरेलले शंखरापुर क्षेत्रलाई धार्मिक तथा प्राकृतिक पर्यटनको केन्द्र बनाउन सकिने बताइन् । बज्रयोगिनी मन्दिर र सालीनदी क्षेत्रलाई जोडेर धार्मिक पर्यटन मार्ग विकास गर्न सकिने उनको धारणा छ ।
स्वास्थ्य सेवामा सर्वसाधारणले ठूलो आर्थिक भार बोक्नुपरेको भन्दै उनले उपचार खर्च सीमित र सर्वसुलभ हुनुपर्नेमा जोड दिइन् । शिक्षा, स्वास्थ्य र रोजगारीलाई उनले राज्यको आधारभूत दायित्व भएको उल्लेख गरिन् ।
हलो चुनाव चिन्ह लिएर मैदानमा उत्रिएकी पोखरेलका लागि यो चुनाव केवल प्रतिस्पर्धा नभई क्षेत्रको आवाज संसदसम्म पुर्याउने अभियान भएको उनले बताइन् ।
