काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार जंगबहादुर लामाले चुनावी अभियानलाई तीव्र बनाएका छन्। हालै ५४ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेर काठमाडौं आएका उनले मतदाताबाट उत्साहजनक साथ र सकारात्मक प्रतिक्रिया पाएको बताएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले घरदैलोका क्रममा आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीसँग प्रत्यक्ष भेटघाट गर्दा सकारात्मक ऊर्जा प्राप्त भएको बताए।
‘संगठनको अवस्था राम्रो छ, जनप्रतिनिधिहरूले गरेका कामका कारण कांग्रेसप्रति जनताको भरोसा बलियो देखिएको छ,’ उनले भने।
घरदैलो अभियानका क्रममा मतदाताले विगतका जनप्रतिनिधिहरूप्रति केही गुनासा पनि राखेको उनले उल्लेख गरे। चुनावअघि घरदैलो गर्ने तर जितेपछि फर्केर नआउने प्रवृत्तिप्रति असन्तुष्टि रहेको उनको भनाइ छ। आफू भने वडा इकाइदेखि जिल्ला तहसम्म सक्रिय रूपमा काम गर्दै आएको उल्लेख गर्दै उनले नयाँ र जिम्मेवार प्रतिनिधिका रूपमा काम गर्ने प्रतिबद्धता जनाए।
पार्टीभित्रको सहकार्यबारे उनले पूर्वमन्त्री तथा नेता मोहनबहादुर बस्नेतसँग पूर्ण समन्वय रहेको बताए।
‘उहाँ हाम्रो अभिभावक र नेता हुनुहुन्छ। बाहिर सुनिने हल्लामा सत्यता छैन। हामी पार्टीको चारतारे झण्डा र रुख चिन्हप्रति प्रतिबद्ध छौं। मनमुटाव केही छैन,’ उनले स्पष्ट पारे।
टिकट वितरणका क्रममा मतभेद देखिए पनि निर्वाचनमा पार्टी एकढिक्का भएर अघि बढ्ने परम्परा रहेको उनले दाबी गरे। नयाँ दलहरूबारे खास चुनौती महसुस नभएको भन्दै उनले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने पार्टी नै सफल हुने बताए।
विकास र पूर्वाधार प्राथमिकतामा
सिन्धुपाल्चोक भौगोलिक रूपमा संवेदनशील जिल्ला भएकाले बाढी–पहिरो नियन्त्रण, सडक सञ्जाल विस्तार तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने उनले बताए। भूकम्प र प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रका लागि दीर्घकालीन योजना आवश्यक रहेको उनको धारणा छ।
उनका मुख्य एजेन्डामा सुशासन, विकास निर्माणको प्रभावकारी अनुगमन, शिक्षा–स्वास्थ्य सुधार, कृषि र पर्यटन प्रवर्द्धन रहेका छन्।
मुडे आलु, कफी खेती तथा जुगल हिमाल, त्रिपुरासुन्दरी मन्दिर र तातोपानी नाकाजस्ता पर्यटकीय क्षेत्रको व्यवस्थित विकासमा जोड दिने उनले बताए। तातोपानी नाकालाई वर्षभरि नियमित सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
‘शिक्षा र स्वास्थ्य सेवामा सुधार आवश्यक छ। कृषि क्षेत्रमा मुडे आलु र कफी खेतीजस्ता सम्भावनालाई प्रोत्साहन गरिनेछ। पर्यटनतर्फ जुगल हिमाल, त्रिपुरासुन्दरी माई, गौरती भीमसेन तथा तातोपानी क्षेत्रको प्रवर्द्धन गरिनेछ,’ उनले भने।
युवा तथा खेलकुद क्षेत्रमा रोजगारी सिर्जना, खेल मैदान निर्माण र युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने योजना रहेको उनले बताए। प्राकृतिक विपद् न्यूनीकरणका लागि केन्द्रबाट बजेट विनियोजन गराएर दीर्घकालीन व्यवस्थापन गर्ने उनको प्रतिबद्धता छ।
सिन्धुपाल्चोकमा पार्टी संगठन बलियो रहेको उल्लेख गर्दै उनले क्षेत्रका ५४ वडामध्ये ३२ वडामा कांग्रेस विजयी भएको तथ्य प्रस्तुत गरे।
‘महाधिवेशनपछि पार्टी नयाँ रूपान्तरणसहित अघि बढेको छ। त्यसैले सिन्धुपाल्चोकमा कांग्रेसको जित निश्चित छ,’ उनले दाबी गरे।

Leave a Comment