Latest News
Kathmandu

रुसको ठूलो योजना विफल बनायो युक्रेनको एउटा सानो सहरले

रुसको ठूलो योजना विफल बनायो युक्रेनको एउटा सानो सहरले

काठमाडौं । युक्रेनमा रुसको आक्रमण जारी छ । युक्रेनका धेरै भूभागहरु रुसले कब्जा गरेको छ । तर एउटा यस्तो शहर छ जसले रुसी सेनालाई लखेट्न सफल भएको छ ।

यो लडाइँ युद्धको हालसम्मको सबैभन्दा निर्णायक लडाइँमध्यको एक थियो । खेती र उब्जाउ जमिन भएको शहर वोज्नेसेन्स्क र यसको रणनीतिक रुपमा महत्वपूर्ण पुलमा नियन्त्रणका लागि दुई दिनसम्म भिषण संघर्ष चल्यो ।

यदि यहाँ रुस विजयी भएको भए कालो सागरको किनारसँगै ओडेसाको विशाल बन्दरगाह र एक प्रमुख परमाणु ऊर्जा संयन्त्रमा रुसले नियन्त्रण गर्न सक्थ्यो । तर युक्रेनका स्थानीय स्वयंसेवकको सहयोगमा युक्रेनी सेनाले रुसी सेनाको रणनीति विफल बनाइदियो । रुसी सेनालाई शहर प्रवेशमा रोक्ने उद्देश्यले युक्रेनी सेनाले सुरुमा पुल भत्काइदिए । त्यसपछि प्रतिकार गर्दै रुसी सेनालाई त्यहाँबाट १०० किलोमिटर टाढासम्म पछि हट्न बाध्य बनाए ।

वोज्नेसेन्स्कका ३२ वर्षीय मेयर येवेनी वेलिच आफैं पनि लडाइँमा खटिएका थिए । रुसी सेनालाई पछि हट्न बाध्य बनाएपछि स्थानीयसँग टाउन हल बाहिर कुरा गर्दै भने, ‘हामीले कसरी रुसी सेनालाई पछि हट्न बाध्य बनायौं भन्ने कुरा भनीसाध्य छैन । फलाम सरह बनेर प्रतिकार गर्ने स्थानीयवासी र युक्रेनी सेनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’

उनले रुसी सेनाले फेरि पनि यहाँ आक्रमण गर्न सक्ने उनले बताए । तर आफूहरुसँग प्रतिकार गर्ने हतियार कम रहेको उनले बताए । ‘यो रणनीतिक स्थान हो, हामीले यो शहरको मात्र होइन, पूरै युक्रेनको रक्षा गरेका छौं,’ उनले भने, ‘तर हामीसँग दुश्मनको जस्ता धेरै हतियार छैन ।’

रुसविरुद्ध लड्न ब्रिटेनले युक्रेनका धेरै स्थानमा एन्टी ट्यांक मिसाइल लगायतका हतियार सहयोग गरेको छ । त्यसैको सहयोगले वोज्नेसेन्स्क शहरमा स्थानीय र युक्रेनी सेनाले रुसी सेनाको प्रतिकार गरेका थिए ।

युक्रेनको दोस्रो ठूलो नदीमाथि बनेको पुलमा कब्जा गर्न रुस असफल रह्यो । यसबाट वोज्नेसेन्स्को रणनीतिक महत्व थप स्पष्ट भयो ।

आज वोज्नेसेन्स्क युक्रेनका धेरै शहरहरुजस्तो खण्डहर भएको छैन । तर यहाँको आकाशमा नियमित हवाई हमलाको पूर्वसंकेत स्वरुप बजाइने साइरन बजिरहन्छ । त्यसैले दैनिक हजारौं मानिसहरुले यो शहर छोडिरहेका छन् ।

सो शहरमा पसल सन्चालन खोलेका एलेक्जेण्डर आफैं एके–४७ राइफल बोकेर युद्धको अग्रमोर्चामा खटिएका छन् । आफ्नो एक भिडियोमा उनले भनेका छन्, ‘यो पूरै शहरको तर्फबाट एक ठूलो प्रयास थियो । हामीले शिकार खेल्न प्रयोग हुने राइफलको प्रयोग गर्यौं । हामीले ईंटा र जारबाट रुसी सेनाको प्रतिकार गर्यौं । वृद्ध महिलाहरुले पनि बालुवाले भरिएका झोला बोके र यो लडाइँमा अमूल्य योगदान गरे । रुसी सेनालाई कहाँनेर जोगिने वा अर्को आक्रमण कहाँबाट हुन्छ भन्ने नै थाहा भएन । मैले कहिल्यै पनि स्थानीयवासीको यस प्रकारको एकता देखेको थिएन ।’ उनले यी कुरा त्यही भत्किएको पुलमाथि उभिएर भनिरहेका थिए, जसलाई युक्रेनी सेनाले रुसी सेनाले आक्रमण सुरु गरेलगत्तै भत्काइदिएका थिए ।

वोज्नेसेन्स्कको दक्षिणी किनारमा रहेको राकोव गाउँमा स्वेतलाना निकोलायेवनाको घर र बगैंचा छ । ५९ वर्षीय स्वेतलानाको घर र बगैंचा रुसी सेनाले नियन्त्रणमा लिएका थिए । उनी आफ्ना परिवारका सदस्यहरुसहित अस्थायी शिविरमा बस्न बाध्य भएकी थिइन् ।

त्यो घरलाई रुसी सेनाले अस्थायी अस्पतालको रुपमा प्रयोग गरेका थिए । त्यहाँ दुई जना युक्रेनी सेनालाई बन्धक समेत बनाइएको थियो । त्यहाँ भिषण संघर्ष भएको थियो । अन्तत रुसी सेना त्यो घर छाडेर भागे । स्वेतलाना भन्छिन्, ‘एक रात रुसी सेना यो ठाउँ छाडेर भागे । उनीहरुले जुत्ता, मोजा, शरीर न्यानो बनाउने सामान, हेल्मेट लगायतका सामान छाडेर गए । उनीहरुले मरेका र घाइते भएका आफ्ना साथीहरुलाई बोकेर रातारात भागे ।’

स्वेतलाना भन्छिन्, ‘उनीहरुले यहाँ गरेको अत्याचार देखेर म उनीहरुलाई मानिस नै होइनन् भन्छु । उनीहरुलाई यत्तिकै छाड्नु हुँदैन । उनीहरु बौलाएका छन् । त्यसैले हामी तयारी अवस्थामा रहनुपर्छ । हाम्रो जित अवश्य हुने छ ।’

उनले रगतले लतपतिएको आफ्नो घर फिर्ता पाएकी छन् र सफासुघ्घर गरेर अहिले त्यहीं बसिरहेकी छन् । उनका बगैंचामा रुसी सेनाले छाडेका ट्यांक र युद्धमा प्रयोग हुने थुप्रै सामानहरुले अहिले पनि छन् । त्यसले धेरैको ध्यान खिच्छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्राधिकरण बिजुलीको माग व्यवस्थापनबारे उद्योगीसँग छलफल गर्दै
पछिल्लो समाचार →
आरजु राणा : निर्वाचनमा गठबन्धन हुन्छ, म कैलाली ५ बाट लड्छु

Leave a Comment

Your email address will not be published. Required fields are marked *