Latest News
Kathmandu

चुनावी तालमेल गर्न सुदूरपश्चिममा एमाले र विप्लव नेतृत्वको नेकपाबीच छलफल

चुनावी तालमेल गर्न सुदूरपश्चिममा एमाले र विप्लव नेतृत्वको नेकपाबीच छलफल

धनगढी । अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा तालमेल गर्ने विषयमा नेकपा एमाले र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बीच छलफल भएको छ । चुनावी तालमेलबारे सोमबार धनगढीमा दुवै पार्टीका नेताहरुबीच छलफल भएको हो । तर छलफलमा कुनै निष्कर्ष भने निस्किएको छैन ।

छलफलमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष दामोदर भण्डारी, सचिव धर्मराज पाठक, केन्द्रीय निर्वाचन आयोगका सदस्य रणबहादुर चन्द र नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन तथा विभिन्न जिल्लाका सेक्रेटरी सहभागी थिए ।

बैठकमा सहभागी एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य चन्दले दुई पार्टीबीच अगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर कसरी जान सकिन्छ भन्ने विषयमा कुराकानी भएको जानकारी दिए ।

‘दुवै पार्टीबीचको आपसी सरसल्लाहमा सोमबार हामीले चुनावमा कसरी जान सकिन्छ भन्ने विषयमा छलफल गरेका हौं,’ चन्दले भने, ‘छलफल सकारात्मक भए पनि चुनावी तालमेलबारे निष्कर्ष निस्किसकेको छैन ।’

नेकपाका केन्द्रीय सदस्य पुनले आफ्नो पार्टीले प्रभाव क्षेत्रको विश्लेषण गरेर एमालेसँगको सहकार्यमा स्वतन्त्र ढंगले उम्मेदवार उठाउने र उसको प्रभाव क्षेत्रमा सहयोग गर्ने विषयमा सकारात्मक छलफल भएको र अर्को चरणमा फेरि छलफल गर्ने सहमति भएको जानकारी दिए ।

‘हाम्रो पार्टीले अहिलेको संसदीय प्रणालीलाई स्वीकार गरिसकेको अवस्था नभएकाले प्रत्यक्ष रुपमा निर्वाचनमा सहभागी नहुने भए पनि राष्ट्रवादी शक्तिहरुलाई सघाउने पार्टीको रणनीति छ,’ नेकपाका केन्द्रीय सदस्य पुनले अनलाइनखबरसँग भने, ‘राष्ट्रियताको सवालमा एमाले र नेकपाका धेरै मुुद्दा मिल्ने भएकाले अगामी निर्वाचनमा तालमेल गरेर जाने कुरा भएको छ ।’

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिका पदाधिकारीको बैठकले अध्यक्ष भण्डारीको अध्यक्षतामा चुनावी तालमेलबारे विभिन्न राजनीतिक दलसँग छलफल गर्न पाँच सदस्यीय वार्ता टोली बनाएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रधानमन्त्रीले चोभारको सुक्खा बन्दरगाह उदघाटन गर्दै
पछिल्लो समाचार →
जिप दुर्घटना हुँदा सल्यानमा सहचालकको मुत्यु, चालक घाइते

Leave a Comment

Your email address will not be published. Required fields are marked *