कास्की। पोखरा महानगरपालिकाले “सबै बालबालिका विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं” भन्ने नाराका साथ शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालय उमेर समुहका सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराई शिक्षा सम्बन्धी मौलिक अधिकार सारभूत रुपमा कार्यन्वयन गर्न उक्त नारा सहित भर्ना कार्यक्रम सञ्चालन गरेको हो ।
शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना बैशाख महिनाभित्र सक्नका लागि भर्ना हुन आउने बालबालिकालाई तत्काल भर्ना गरी निशुल्क पाठ्यपुस्तक वितरण गर्न महानगरपालिका भित्रका सम्पूण विद्यालयहरुलाई निर्देशन दिएको छ ।
त्यसैगरी शिक्षा शास्त्र विषयमा कक्षा ११ र १२ सञ्चालन भएका विद्यालयहरुले सो तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक कार्यका रुपमा आफ्नो सेवा क्षेत्रभित्र विद्यालय रहेका बालबालिकाहरुको लगत संकलन, तिनिहरु विद्यालय बाहिर रहनुको कारण एवम् समस्या पहिचान, विद्यालय भर्नाका लागि घरदैलो,सडक नाटक प्रदर्शन जस्ता क्रियाकलाप परिचालन गर्न आग्रह गरेको छ ।
साथै एक जना शिक्षकलाई विद्यार्थी भर्ना कार्यक्रमको सम्पर्क व्याक्ति तोकि,सूचना, सम्पर्क र समन्वयको जिम्मेवारी दिन भनिएको छ । कक्षा ११ सञ्चालित विद्यालयहरुले एसईई नतिजा प्रकाशन पूर्व कुनैपनि बहानामा कक्षा ११ को भर्ना सम्बन्धी क्रियाकलाप सञ्चालन नगर्न निर्देशन दिएको छ ।

Leave a Comment