Latest News
Kathmandu

देउवाको गृहजिल्लामा फुट्यो कांग्रेस, एमालेसँग तालमेल !

देउवाको गृहजिल्लामा फुट्यो कांग्रेस, एमालेसँग तालमेल !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेल्धुरामा कांग्रेस फुटेको छ ।
कांग्रेस डडेल्धुरामा असन्तुष्ट पूर्व सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस बीपीबाट अलग्गै चुनावमा होमिएको हो ।

मल्ल पक्षले क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गरिरहेका थिए ।
अन्ततः उनीहरुले स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेको छ ।

डडेल्धुरामा मल्लनिकट कांग्रेस नेता कार्यकर्ताको पंक्ति कांग्रेस बीपीमा लागेको हो । छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित सिंगो जिल्ला कार्य समिति आफूसँग रहेको मल्लनिकट नेताहरुको भनाई छ ।

मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँट गर्दा अन्यायमा परेका नेताहरूलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिँदै आएका थिए । आफ्ना माग सुनुवाई नभएपछि कांग्रेस छाडेर गरी नेपाली कांग्रेस बीपीमा प्रवेश गरेको ती नेताको भनाई छ ।

दुई नगरपालिका र पाँच वटा गाउँपालिका रहेको डडेल्धुरामा कांग्रेसबाट ‘विद्रोह’ गरेको मल्ल पक्षले नेकपा एमालेसँग तालमेल गरेर सोमबार उम्मेदवारी दर्ता गराएको छ । आलिताल गाउँपालिकाबाहेक भएको भागबन्डाअनुसार जिल्लाका ३ स्थानीय तह प्रमुख र ३ उपप्रमुखमा एमालेले उम्मेदवारी दिएको छ । ३ स्थानीय तह प्रमुख र ३ उपप्रमुखमा बीपीले उम्मेदवारी दर्ता गरेको छ ।

आलितालमा एमालेबाट अध्यक्षमा मीन बोगटी र उपाध्यक्षमा शान्ति भट्ट जोशीको उम्मेदवारी परेको छ । त्यहीँ कांग्रेस बीपीतर्फबाट टेकबहादुर खड्काको नेतृत्वमा स्वतन्त्र उम्मेदवारी परेको छ । सदरमुकामको अमरगढी नगरपालिकामा एमाले र कांग्रेस बीपी गठबन्धनबाट प्रमुखमा बीपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीको उम्मेदवारी परेको छ ।

त्यस्तै एमालेको भागमा परेको परशुराम नगरपालिकाको मेयरमा केशव बोहरा र उपप्रमुखमा बीपीबाट गोपा थापाले मनोनयन दर्ता गराएका छन् । परशुरामको उपमेयरमा एमालेबाट गौमती पन्तले पनि उम्मेदवारी दिएकी छिन्। उनलाई उम्मेदवारी फिर्ता लिन लगाउन एमालेका नेताहरु सक्रिय छन् ।

एमालेले पाएको अजयमेरु गाउँपालिकाको अध्यक्षमा पदम पाल र उपाध्यक्षमा बीपीका रामचन्द्र ऐरले मनोनयन दर्ता गराएका छन् । यस्तै नवदुर्गा गाउँपालिकामा कांग्रेस बीपीबाट अध्यक्ष गोकुल शाही र उपाध्यक्षमा एमालेबाट वीरबहादुर विष्टले उम्मेदवारी दिए ।

प्रमुख कांग्रेस बीपीको भागमा परेको गन्यापधुरामा अध्यक्षमा सुरेन्द्र माली र एमालेबाट उपाध्यक्षमा इन्द्र महराले मनोनयन दर्ता गराएका छन् । एमालेको भागमा परेको भागेश्वरको अध्यक्षमा रामबहादुर शाही र उपाध्यक्ष कांग्रेस बीपीबाट नरबहादुर ठकुराठीले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

कांग्रेसको ठूलो पङ्क्ति पार्टी बाहिर गएकाले देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसलाई चुनाव जित्न चुनौती छ । देउवाको गृहजिल्लामा गठबन्धन भाँडिएको छ । भागबन्डामा सहमति नजुटेपछि गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आ–आफ्नै उम्मेदवार उठाएका हुन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘आफू खुशी दिएको उम्मेदवारी हटाउने पहल भइरहेको छ’
पछिल्लो समाचार →
देउवाले खोसे प्रदेश र जिल्लाले बाँडेका टिकट, ५ ठाउँमा फेरिए उम्मेदवार

Leave a Comment

Your email address will not be published. Required fields are marked *