काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि वितरण गरेको टिकटमाथि केन्द्रबाट हस्तक्षेप गरेको छ । सम्बन्धित प्रदेश कार्यसमिति र जिल्लाले पालिकामा वितरण गरेको टिकटमा केन्द्रबाटै हस्तक्षेप गरिएको हो ।
केन्द्रले विभिन्न प्रदेश कार्यसमितिले चार नगरपालिका प्रमुख र जिल्ला कार्यसमितिले एक गाउँपालिका अध्यक्ष–उपाध्यक्षका लागि वितरण गरेको टिकट खारेज गरेको हो ।
सभापति शेरबहादुर देउवाले झापाको मेचीनगर, गोरखा नगरपालिका, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र कैलालीको लम्कीचुहा नगरपालिकाको टिकट वितरणमा हस्तक्षेप गरेका हुन् । प्रदेश १ कार्यसमितिले मेचीनगर प्रमुखका लागि जिल्ला उपसभापति केशवराज पाण्डेबाट टिकट खोसेर इन्द्रबहादुर बुढाथोकीलाई दिइएको छ ।
मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाउँदै बुढाथोकी नै आधिकारिक उम्मेदवार भएको उनले बताएका छन् । यसअघि प्रदेश कार्यसमितिले मेचीनगर प्रमुखमा उपसभापति पाण्डेलाई उठाउने निर्णय गरेको थियो ।
‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख पदमा तीर्थराज भट्टराई नेपाली कांग्रेस पार्टीको आधिकारिक उम्मेदवार भएको प्रमाणित गरिन्छ। यसर्थ, त्यहीअनुसार कांग्रेसको उम्मेदवार कायम गरिदिनु हुन अनुरोध गर्दछु’, देउवाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । केन्द्रले पत्र पठाएसँगै भट्टराई नै आधिकारिक उम्मेदवार हुने प्रदेशका कांग्रेस महामन्त्री भूपेन्द्र राईको भनाई छ ।
यस्तै कैलालीको लम्कीचुहा नगरपालिकाका लागि सुदूरपश्चिम प्रदेश कार्यसमितिले भक्तबहादुर थापालाई प्रमुखको टिकट दिएको थियो । तर, केन्द्रले सुशीला शाहीलाई टिकट दिएर पठाएको छ । प्रदेश कार्यसमिति र सभापति देउवाले फरक–फरक व्यक्तिलाई टिकट दिएपछि लम्कीचुहा नगरपालिका प्रमुखका लागि कांग्रेसबाट दुवैजनाले उम्मेदवारी दर्ता गरेका छन् ।

Leave a Comment