युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । निर्वाचन आयोगले मतगणनास्थलहरुमा क्लोज सर्किट टेलिभिजन ९सीसीटीभी० मार्फत निगरानी र अनुगमन गर्ने भएको छ । मतगणनास्थलको सुरक्षाका लागि आयोगले सीसीटीभीबाट निगरानी गर्ने र त्यसको रेकर्ड सुरक्षित राख्ने व्यवस्था मिलाएको हो ।

आयोगले डेढ महिनाअघि नै मतपेटिका भण्डारण र मतगणना दृश्य अनुगमनका लागि सीसीटीभी जडान गर्न र उपकरणहरुको बन्दोबस्त गर्न देशभरका स्थानीय तहमा परिपत्र गरेको थियो । आयोगले केन्द्रबाट नै इन्टरनेटको सुविधा पुगेका सबै ठाउँको अनुगमन गर्नेछ ।

‘पाँच वर्षअघि भरतपुरको मतगणनास्थलमा भएको घटनापछि केही ठाउँमा तारजाली राखेर मतगणना भएको थियो, तर त्यसले आम मानिसमा नकारात्मक सन्देश प्रवाह भएको महसुस भयो,’ आयोग स्रोतले भन्यो, ‘यसपालिदेखि हामीले तारजाली राख्दैनौं । सीसीटीभीमा सबै दृश्य रेकर्ड हुने व्यवस्था मिलाएका छौं ।’ आयोगले कुनै घटना भए सीसीटीभी फुटेजबाट प्रमाण संकलन र त्यसकै आधारमा निर्णय हुने जनाएको छ ।

पाँच वर्ष अघिको निर्वाचनमा चितवन महानगरपालिकामा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणनास्थलको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको छ । यस्ता घटना दोहोरिनसक्ने आशंकाका साथ त्यतिबेला नै अरु स्थानीय तहमा तारजाली राखेर मतगणना गरिएको थियो ।

२०७४ सालको निर्वाचनमा भरतपुरमा कांग्रेसको समर्थन सहित माओवादी केन्द्रबाट रेनु दाहाल र एमालेबाट देवी ज्ञवाली प्रतिस्पर्धामा थिए । सबै मतगणना सकिएर वडा नं। १९ र २० को मतगणना बाँकी थियो । बाँकी रहेका २ हजार ८९७ मध्ये १ हजार ८०९ मत गणना भइसकेको अवस्थामा १४ जेठ २०७४ मा रेनु दाहालका प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । पछि छानविन हुँदा ९० वटा मतमात्रै च्यातिएका थिए ।

त्यतिबेला मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीले मतपत्र च्यातेर भागेका थिए । शुरुमा ‘काबु बाहिरको परिस्थिति’का कारण भनी मतगणना स्थगितको घोषणा गरेका न्यायाधीश कवि न्यौपानेले पछि प्रतिवेदनमा भने मतगणनास्थलमा ‘अनधिकृत कब्जा’ भन्ने शब्द लेखेर मतपत्र च्यातिएको उल्लेख गरे । मतगणनास्थलमा अनधिकृत कब्जा भई मतपत्र च्यातिएमा फेरि निर्वाचन गराउनुपर्ने अवस्था हुन्थ्यो ।

त्यतिबेला माओवादी केन्द्रले ती वडामा फेरि मतदान हुनुपर्ने अडान राखेको थियो भने एमालेले च्यातिएका मत बाहेक अरु गणना गरेर अन्तिम नतिजा सार्वजनिक हुनुपर्ने माग गरेको थियो । निर्वाचन आयोगले फेरि मतदान हुने घोषणा गर्‍यो ।

आयोगको निर्णय विरुद्ध परेको मुद्दामा समेत सर्वोच्च अदालतल त्यसैलाई सदर गरेर मतदानको आदेश गर्यो । त्यतिबेला मुख्य निर्वाचन अधिकृत न्यौपानले प्रतिवेदन दिंदा मतगणनास्थल ‘रणमैदान’ भएको भन्ने शब्द प्रयोग गरेर पुनः मतदानको वातावरण बनाएको एक अधिकृतले बताए ।

‘त्यतिबेला मतगणनास्थलमा सीसीटीभी भएको भए मतगणनास्थलमा अधिकृत कब्जा थियो कि थिएन रु रणमैदान भएको हो कि होइन रु अनि काबु बाहिरको परिस्थिति के हो भनेर निर्वाचन आयोगकै पदाधिकारीले निर्णय गर्नसक्थे,’ आयोग स्रोतले भन्यो, ‘कुनै दृश्य प्रमाण नहुँदा मुख्य निर्वाचन अधिकृतले जे प्रतिवेदन दियो, त्यसैमा भर पर्नुपर्ने अवस्था भयो । अहिले थप प्रमाणका लागि मतगणनास्थलमा सीसीटीभी राख्ने र दृश्य रेकर्ड गर्ने व्यवस्था गर्नुपरेको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर