काठमाडौं । काठमाडौं उपत्यकाका तिनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज रातिबाट मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ ।
मौन अवधि सुरू भएदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर तिनै जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्रीमा रोक लगाउने जनाएका छन् ।
मदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले आजदेखि वैशाख ३० गते चुनाव अवधिभर मदिराजन्य पदार्थ किनबेचमा रोक लगाएको छ ।
‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि मिति २०७९ वैशाख २७ गते मंगलवार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नू र नगराउनू होला’, सूचनामा भनिएको छ ।
यसैबीच, आज रातिबाट मौन अवधि लागू हुँदैछ । मौन अवधिभर प्रचार–प्रसार लगायतका गतिविधिमा निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
चुनावी प्रचार–प्रसारका लागि आज अन्तिम दिन हो । मौन अवधिभर कुनै पनि प्रचार–प्रसारका गतिविधि गर्न नपाइने आचारसंहितामा उल्लेख छ । मौन अवधिमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन जस्ता गतिविधिहरु तथा सभा वा समारोह गर्न पनि निषेध गरिएको छ ।

Leave a Comment