काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेका छन् ।
नयाँ पार्टीको नेतृत्वको जिम्मा लिएपछि भट्टराईले आगामी चुनावको तयारी सुरु गरेका हुन् ।
त्यसका लागि डा. भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नै दैनिक छलफल गरिरहेको स्रोतको दाबी छ ।
पाँचदलीय सत्ता गठबन्धनले अन्य दलसँगको गठबन्धनको ढोका बन्द गरेपछि डा. भट्टराई विकल्पसहित छलफल थालेका हुन् ।
स्रोतका अनुसार महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसप) र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित एमालेबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ ।
एमाले, लोसपा र रेशम चौधरीको पार्टीबीच चुनावी तालमेलको सम्भावना बढेर गएको एक नेताले बताए ।
तर, एमालेका महासचिव शंकर पोखरेलले भने कुनै ठोस कुरा नभएको प्रतिक्रिया दिएका छन् । एमालेले चुनावको विषयमा ठोस छलफल कसैसँग गरेको उनको भनाई छ ।
पाँच दलीय गठबन्धनमा रहने, कांग्रेसबाहेक अन्य दलबीच एउटै चुनाव चिन्हमा उम्मेदवारी दिन तयार रहेका भट्टराईले अन्तिम समयमा गठबन्धनले आफूसँग सल्लाह नगरेकोमा गुनासो गरेका छन् ।
जसपा पुनर्गठन गरेर भट्टराईले १२ साउनमा लोकतान्त्रिक समाजवादी पार्टीको नाम परिमार्जन गरेर नेसपा बनाई निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् ।
गोरखाको क्षेत्र नम्बर २ बाट चुनाव लड्न भट्टराईले एमालेसँग मिल्दा सहज हुने उनी पक्षीय नेताहरुको बुझाई छ ।
मंसिर ४ गतेको लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गर्न डा. भट्टराई आँफैले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरिरहेका थिए।

Leave a Comment