युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

नेपालको प्राचिन नाम नै किरात देश हो । नेपालको ईतिहास नै नेपालको सबैभन्दा प्राचिन मानव सभ्यता किरात सभ्यताको ईतिहासबाट सुरुवात भएको थियो । प्राचीन हिन्दु धर्मग्रन्थ ऋगवेद/महाभारत/पुराण/बौद्ध ग्रन्थ/जैनग्रन्थ/समृती, काव्य, कथा, प्रशस्ती र अभिलेखहरुमा किरातको ईतिहास उल्लेख रहेको पाईन्छ ।

मरुतन्त्र हिमवतखण्डको श्लोकअनुसार काश्मिरदेखी पुर्व, कामरुपदेखी पश्चिम, भुटानदेखी मानसरोवरको दक्षिणपश्चिमसम्म, कैलालीनदिको किनारदेखी सरयुनदिको किनारसम्म, मानसरोवरदेखी चीनसम्म, नागदेशदेखी महाचानसम्मको भुभागलाई किरात देश भनिन्थ्यो ।

मरुतन्त्र हिमवतखण्ड श्लोक- किरात देशोदेवेशी, विन्ध्ये शैले च तिष्ठति ! काश्मिरन्तु समारभ्य कामरुपात्तु पश्चिम्मे, भोटान्त देशोदेवेशी, मानसेशाच्च, दक्षिणे ! मानसेशा पक्ष पुर्वे चीनदेशः प्रकीर्तित ! कैलालीशं (तिर) समारभ्य सरयुयोनित— परे ! नगदेशे महेशानि महाचिनानीमिध्यो भवेत ! नटेश्वर समारभ्य योनगिन्यन्तं महेश्वरी ! भनेर किरात देशको वर्णन गरेको पाईन्छ ।

ऋगवेदमा नेपालको नाम उल्लेख भएको पाईन्दैन । तर, प्राचीन संस्कृत वाङमयमा नेपाल शब्दको पर्यायको रुपमा किरात शब्द यत्रत्यत्र रुपमा प्रयोग भएको पाईन्छ । महाभारतमा किरातहरुको शाषन रहेको नेपाल एक स्वतन्त्र देश रहेको नाम उल्लेख भएको पाईन्छ ।

प्राचीन संस्कृत वाङमयमा हिमवत प्रदेश, पाशुपत शेत्र, किन्नरदेश भनेर किरात देशको रुपमा उल्लेख गरेको पाइन् छ । प्राचीन भारतीय उपमहाद्विप (Indian Sub Continent) मा विभिन्न कालखण्डमा विभिन्न राज्य/सभा/समिती/जनपद तथा महाजनपदहरु जस्ता स्वतन्त्र गणराज्यहरु हुने गर्थे । प्राचीन भारत वर्षमा प्राचीनकाल वैदिककाल/उत्तर वैदिककाल छैटौँ शताब्दी ईसा पूर्वतिर लगभग मानिसहरु स-सानो कबिला समूहमा नदिको किनारमा स-सना राज्य निर्माण गरेर बस्थिए ।

भारतवर्षमा प्राचिनकाल वैदिककाल/उत्तरवैदिककाल छैटौँ शताब्दी ईसा पूर्वदेखी बुद्धकालको समय सम्ममा भारतको राजनीतिक इलाका, स्वतन्त्र राज्य/गणराज्य/साम्राज्यहरु थिए । जसलाई (जनपद) भनिन्थ्यो । प्राचीन भारतीय उपमहाद्धिपमा रहेका ती विभिन्न जनपदहरुमध्ये हिमालय फेदमा रहेको एक प्रमुख जनपदको नाम किरात हो । जसलाई आजको नेपाल देशको नामले परीचित छ ।

ती स्वतन्त्र गणराज्य तथा जनपदहरु जगांधार, मद्र,सिन्ध, काम्बोज, कलिंग, सिंहल, दरद, अभीषह, मागध, पिशाच, कोसल, त्रिगर्त, सौविर, प्राच्य, प्रतीच्य, बाह्लिक, उदीच्य, अंश, पल्ल्व, सौराष्ट्र, अवन्ति, निषाद, शूरसेन, शिबि, वसति, पौरव, तुषार, चूचुपदेश, अशवक, पाण्डय, पुलिन्द, पारद, क्षुद्रक, प्राग्ज्योतिषपुर, मेकलकुरुविन्द, त्रिपुरा, शल, अम्बष्ठ, कैतव, यवनपांचाल, चेदि, काशी, करुष, मत्स्य, केकय, सृंजय, दक्षार्ण, सोमक, कुन्ति, आनर्त, दाशेरक, प्रभद्रक, अनूपक, (किरात) पटच्चर, पौण्ड्र, पिशाच, पुण्ड्र, कुण्डीविष, मारुत, धेनुक, तगंण, परतगंण, तित्तिरचोल, पाण्डय, अग्निवेश्य, हुण्ड, दानभारि, शबर, उद्भस, वत्स जस्ता नाम गरेका करिब ७० वटा भन्दा धेरै जनपदहरु अवस्थित थिए ।

महाभारत/पाली साहित्य/बौद्ध ग्रन्थ अंगुत्तरनिकाय, जैनग्रन्थ भगवतीशुत्र/हरीवंश पुराण/तामिलग्रन्थ शिल्पादिकाराम लगायतका श्रोत अनुसार छैटौ शताब्दीको ईस्वी पूर्वमा ती जनपदहरुको आकार बढेर १६ वटा महाजनपद, मगध, कोशल, अंग, चेदि, वत्स, कुरु, पांचाल, मत्स, सूरसेन (मथुरा), अश्मक, अवन्ति, गांधार, कम्बोज, वृज्जी, मल्ल, काशी जस्ता महाजनपदहरुको स्थापना भएको थियो ।

बुद्धकालको समयमा ती महाजनपदहरु मध्ये सबैभन्दा शक्तिशाली मगध, कोशल, वत्स र अवन्ति थियो । त्यसरी ऋगवेद/मरुतन्त्र हिमवतखण्डको श्लोकमा वर्णन गरीएको किरात देश, त्यस्तै प्राचीन भारत वर्षको विभिन्न प्राचीनकाल, वैदिक उत्तर वैदिककाल देखी महाभारतकाल बुद्धकालसम्मको विभिन्न गणराज्य/जनपद मध्ये एक किरात हुनुले पनि यो प्राचिन नेपालको नाम किरातदेश थियो भन्ने कुरा प्रमाणित हुने गर्दछ ।

नेपालको प्राचिन ईतिहास अनुसार नेपालको पहिलो राजा यलम्बर हाङले सर्वप्रथम नेपाल एकिकरणको सुरुवात गरेका हुन् । र हाङले त्रिशुलीदेखी टिस्टासम्म आफनो राज्य विस्तार गरेर आधुनिक नेपालको जग बसालेका थिए ।

यलम्बर हाङ नै नेपालको राष्ट्र निर्माता हुन् । नेपालमा यलम्बरको शाषनकालपछि नेपालको ७औ किराती राजा (जितेदास्ती हाङ)को पालामा (बुद्ध)आफनो बुद्ध धर्मको प्रचार प्रसारमा र शान्तीको सन्देश फैलाऊदै प्राचिन किरात देश/नेपाल स्थित हालको (काठमाण्डौ/नेपाल खाल्डोमा)भ्रमण आएका थए ।

प्राचीन किरात देश/नेपालको किरातीहरुले आफनो मौलिक संस्कृती मुन्दुमलाई त्यागेर बुद्धको धर्ममा लाग्न अस्वीकार गरेपनि बुद्धलाई भने भव्यताका साथ नेपालको राजधानी (यलाखोम÷काठमाडौंमा) स्वागत गरेका थिए । त्यतिबेला बुद्धलाई धार्मिक पवित्र स्थल स्वयम्भुनाथ/गुहेश्वरी ईत्यादि स्थलहरुमा भ्रमण गराईएको थियो ।

त्यस्तै नेपालको १४औँ किराती राजा (स्थुम्को हाङ)को पालामा भारतीय उपमहाद्वीपमा (२६८-२३२ बि.सि.ई) मा पश्चीममा अफगानिस्तान र पुर्वमा बंगलादेश सम्म शाषन गरेका सबैभन्दा शक्तीशाली मगध साम्राज्य तथा विशाल भारतवर्षको मौर्यवंशीको चन्द्रगुप्त मौर्यको नाती चक्रवर्ती सम्राट अशोका (Ashoka The Great) बुद्ध धर्मको प्रचार प्रसारमा प्राचिन किरात देश (हालको नेपाल)मा भ्रमणमा आएका थिए र त्यती विशाल साम्राज्य भएका शक्तिशाली चक्रवर्ती सम्राट अशोकाले पनि नेपालको (किराती राजा स्थुङ्को हाङ) को हिमाली राज्य नेपालको स्वतन्त्रता/सार्वभौमिकताको सम्मान गरेका थिए ।

आफुसंगै आएको आफनो छोरी चारुमतीलाई नेपालको (देवपाल) नामक राजकुमारसंग बिवाह गरिदिएका थिए । चक्रवर्ती सम्राट अशोकाले तत्कालिन नेपालको पाटन क्षेत्रमा ४ वटा बुद्धको स्तुपाहरु बनाएका थिए । नेपालको राजकुमार (देवपाल र चारुमती) हालको चाबाहिलस्थित पशुपती क्षेत्रमा बसोबास गर्दथिए । राजकुमार देवपालको मृत्यु पश्चात आफनो पतीको सम्झना स्मृतीमा देवपाटन स्तुपा स्थापना गरेका थिए ।

नेपालको अन्तिम किराती राजा गस्ती हाङको शाषनकालको अन्त्य भयो । जब सोमा राजा निमिसाले ई.सं ११० मा आक्रमण गरे । त्यसपश्चात यलम्बरकालिन विशाल किरात देश क्रमश लिक्ष्छबी/मल्ल/सेनकालमा किरात देश नेपाल स–सानो राज्यमा परीणत हुँदै गयो ।

नेपालको ईतिहासमा सेनकालिन समयमा पनि किरात राज्यहरु यथावत नै थिए । सेनकालमा किराती दाजुभाई जिल राई र अजिल राईहरु हिन्दुकृत भएर जिल शेन र अजिल सेन बनेको पाईन्छ । अजिल सेनको शेषपछि उनका छोरा तुला शेन राजा भई मकवानपुरगढिको निर्माण गरेको ईतिहास सेन वंशावलीमा उल्लेख भएको पाइन्छ । तुलासेन पछि ५ पुस्ता पछाडिको मुकुन्दसेन शक्तीशाली राजा बनेर पाल्पा काठमाडौं आफ्नो राज्यमा विलय गराएर पुर्वको किरात राज्यहरु चौडण्डि गढि आफ्नो छोरा लोहाङसेनलाई हस्तान्तरण गरेका थिए भन्ने ईतिहास पाइन्छ ।

लोहाङसेनले पुर्वको विजयपुरगढि समेत बिजय प्राप्त गरेका थिए भन्ने कुरा सेन वंशावलीमा पाईन्छ । तत्कालिन सेन राजाहरु हिन्दुकृत पदवी लिएर सेन भएपनि तिनिहरु किरात सन्ततीहरु नै थिए भन्ने बुझिन्छ । ती सेन राजाहरु प्रतिकात्मक राजा थिए भने ती किरात राज्य सन्चालन गर्ने शक्तीशाली मन्त्रीहरु बुद्धिकर्ण राई, महेन्द्र राई, विचित्र राई, अगमसिंह राई, विश्वासचन्द्र राई, सिंह राईहरु थिए ।

अर्थात सेनकालमा पनि ती मन्त्री किरातहरुले नै राज्य सन्चालन गर्दथिए । सेनकालमा मकवानपुरगढि, सिन्दुलीगढी, हरीहरपुरगढि, विजयपुरगढि चौदण्डिगढि लगायत मोरङ जस्ता किरात राज्यमा किरातहरुकै शाषन हुने गर्दथियो । जसलाई पृथ्वीनारायण शाहले शाहको भौगोलिक एकिकरण पुर्वसम्म पनि किरात राज्यकै रुपमा यथावत थियो ।

सेनकाल पश्चात गोर्खाको राजा पृथ्वी नारायण शाहले वि.सं १८२५ देखी वि.सं १८३१ सम्म प्राचीन यलम्बरकालीन विशाल नेपाल किरात राज्यलाई पुनः भौगोलिक एकिकरणको थालनी गरेका थिए । पृथ्वी नारायण शाहले भौगोलीक एकीकरण गर्नुअघि वि.सं १८१४ को ताम्रापत्रमा नेपालको पुर्व किरात राज्यहरुलाई किरात मुलुकको रुपमा मान्यता दिईसकेको कुरा ताम्रापत्रहरुमा उल्लेख छ । वि.सं १८१४ सालमा पृथ्वीनारायण शाहले किरात राज्यको हाङहरुलाई लेखेको ताम्रापत्र अनुसार- स्वास्ती श्र राज विविध वंशावली आगे ताहा तादि देखिन किरात मुलुक बराई-क्षेत्र, साङ महाङगढ, लोहाङगढ, ईलाम, मोरोङगढ, साङलीगढ, गढसाङ ईत्यादी विविध पुस्ता राजवंशी आपुंगे राज थामी थियो ।

अरु राजा राजौटे साखा मासिने, तिमि किरातसोर नमासिने हौँ । तिमिहरु मैले जानेको हुँ, अघि दश पुस्ता चक्रवर्ती सम्राट हो । माङ्घ वंशी राजा हिजु अधिराज्य भएका कारण तिमिलाई कोई राजाले मसाऊन सक्दैन । अघि चिन तिब्बत र अरु राजा बांसाहरुबाट पनि अनादिकाल देखीन तम्रो वंशमा समर्थन लीपी दिई आएको हो । यसरी पृथ्वी नारायण शाहले वि.सं १८१४ सालको ताम्रापत्रमा किरात मुलुक/किरात देश या किरात राज्यलाई स्विकार गरेका ताम्रापत्र र प्रमाणहरु पाईन् छ ।

नेपालको शाहकालिन राजतन्त्र, राणा शाषनको समयमा पनि नेपालको पुर्वी भुगोललाई किरात नै भनेर सम्बोधन गिरन्थ्यो । २००७ सालको राणाशाषनको अन्त्य पछिको पञ्चायती शाषन व्यवस्था सम्मको समयमा पनि नेपालको सरकारी प्रशाषनिक लिखौटहरुमा पुर्वी नेपालको भुगोललाई यसरी श्री लिखितम जिल्लै (ओल्लो किरात) (माझ किरात) (पल्लो किरात) प्रगन्ना मौजे ईत्यादि भनेर सुनकोशीदेखी पुर्व दुधकोशी सम्मको भुभाग लाई (ओल्लो किरात), दुधकोशीदेखी अरुण सम्मको भु-भागलाई माझ किरात र अरुणदेखी पुर्वी भु-भागलाई (पल्लो किरात) अथवा हालको प्रदेश नं १ लाई किरात भुगोलको नामले सम्बोधन गरिन्थ्यो ।

भारतीय उपमहाद्धिप (Indian SubContinent) को विभिन्न प्राचीन राज्य र जनपदहरु मध्ये एक किरात जनपद÷राज्य रहेको प्रमाणहरुले,नेपालको सबैभन्दा प्राचीन मानव सभ्यता किरात सभ्यताको आधार,नेपालको सबैभन्दा पहिलो राजा यलम्बर कालिन विशाल किरात देशको ईतिहास, लिच्छबी/मल्लकालदेखी सेनकालसम्म नै नेपालको पुर्वमा स्वतन्त्र किरात राज्यहरु स्थापित प्रमाणहरुले, सेनकालपछि गोर्खा राज्य विस्तार या भौगोलिक एकिकरणको क्रममा पृथ्वीनारायण शाहले वि.सं १८१४ मा किराती हाङहरुलाई लेखेको ताम्रापत्रमा स्पष्ट रुपमा किरात मुलुक/किरात देशलाई स्विकार गरेको प्रमाणहरु, नेपालको शाहकालिन राजतन्त्र, राणाकालिन र २००७ सालको राणाशाषनको अन्त्य पछिको पञ्चायती शाषन व्यवस्थाको नेपालको विभिन्न सरकारी प्रशाषनिक लिखौटहरुमा पुर्वी नेपालको भुगोललाई श्री लिखितम जिल्लै (ओल्लो किरात, माझ किरात, पल्लो किरात) प्रगन्ना मौजे ईत्यादि भनेर सुनकोशीदेखी पुर्व दुधकोशी सम्मको भु-भागलाई (ओल्लो किरात), दुधकोशीदेखी अरुण सम्मको भु-भागलाई माझ किरात र अरुणदेखी पुर्वी भुभागलाई (पल्लो किरात) अथवा हालको प्रदेश नं १ लाई किरात भुगोलको नामले सम्बोधन गरेको सरकारी लिखौटहरु/कागजपत्रहरुको प्रमाणहरुले प्राचीन नेपालको नाम किरात देश हो र हालको प्रदेश नं १ को भुगोलको प्राचीन नाम नै किरात हो भन्ने पुष्टि हुन्छ ।

त्यसैले भारतीय उपमहाद्धिपको प्राचीन ईतिहास/प्राचिन किरात सभ्यता/विभिन्न धर्मग्रन्थ/प्राचिनकालको विभिन्न राज्य/जनपद र विभिन्न कालखण्डको ईतिहास अनुसार प्राचीन नेपालको नाम नै किरात देश हो । हालको प्रदेश नं १ को नाम पनि किरात प्रदेश नै हो भन्ने प्रमाणित हुन्छ ।

मुलघरे कान्छा (राजेन खिम्बुले राई)
भोजपुर चरम्बी रयाङ्ग
हाल बेलायत

प्रतिक्रिया

सम्बन्धित खवर