काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै मन्त्रीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । कार्यालयका अनुसार बुधबार (हिजोसम्म) सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका हुन् ।
यो आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई सम्पत्ति विवरण बुझाउन हिजोसम्मको समयसीमा तोएिको थियो । उक्त अवधिमा मन्त्रिपरिषद्का सबै सदस्यले सम्पत्ति विवरण बुझाएको एक अधिकारीले जानकारी दिए ।
मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । अब जतिसक्दो छिटो उक्त सम्पत्ति विवरण सार्वजनिक गरिने ती अधिकारीको भनाई छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सम्पत्ति विवरण सार्वजनिक गरिने उनले बताए ।
यही भदौ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट ‘वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने’ निर्णय गरिएको थियो ।

Leave a Comment