Latest News
Kathmandu

सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रकिया प्रहरीले अघि बढायो

सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रकिया प्रहरीले अघि बढायो

काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।

लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो । उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसक्यो । अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

तर लामिछाने अझै पक्राउ परेका छैनन् । उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन् । यसो हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको एक प्रहरी अधिकारीले बताए ।

‘उनी अहिलेसम्म सम्पर्कमा आएनन्, इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया सुरू भइसक्यो,’ ती अधिकारीले भने ।

प्रहरीले सन्दीप नेपाल नफर्किए औपचारिक वा अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताएको थियो ।

अहिले उनी कुन देशमा छन् भन्ने खुलेको छैन । इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रियामा जाँदा सुरूमा कुन प्रकृतिको अपराध हो भन्ने छुट्याइने प्रहरीका निमित्त केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।

इन्टरपोलले रेड, ब्लु, एल्लो, ब्ल्याक, पर्पललगायत रंगअनुसार अपराधको वर्गीकरण गरेको छ । बलात्कार, हत्याजस्तो जघन्य अपराधको मुद्दामा इन्टरपोलबाट रेड कर्नर जारी गरिन्छ ।

‘कस्तो खालको अपराध र परिस्थिति हो त्यसअनुसार नोटिस जारी हुन्छ । मृत्यु भइसकेको मान्छे खोज्न परे ब्ल्याक कर्नर, बिस्फोट गराएको मुद्दाका मान्छे पक्राउ गर्न परे पर्पल, बलात्कारजस्तो गम्भीर प्रकृतिको अपराधमा रेड कर्नर नोटिस जारी हुन्छ,’ उनले भने, ‘नोटिस जारी गर्न पनि एकैचोटी हुँदैन । कार्यविधि, कानुनअनुसार अघि बढ्ने हो ।’

उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो । लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ । यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा पनि राखेको छ ।

यस घटनाको अनुसन्धान प्रहरी वृत्त गौशालाले गरिरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बुहारीलाई सानो जात भन्दै बिश्वकर्मा परिवारद्वारा ससुराको किरियामा रोक !
पछिल्लो समाचार →
के ‘ब्रा’ लगाउँदा स्तन क्यान्सर हुन्छ ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *