Latest News
Kathmandu

राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाउनुहुने लक्ष्मीकान्त

राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाउनुहुने लक्ष्मीकान्त

सन्तानका लागि बुबाआमाले नगर्ने के हुन्छ र ? प्राय आफ्ना रहरलाई थाती राखेर सन्तानका लागि जीवन दिन तयार हुन्छन् सबैका बुबाआमा ।

त्यसैको एउटा ज्वलन्त उदाहरण गुल्मीमा देखिएको छ । जुम्लाको सिञ्जा गाउँपालिका–२ का लक्ष्मीकान्त आचार्य ६३ वर्ष पुग्नुभयो । उहाँले सन्तानका लागि बोक्दै आएको भारी अझै बिसाउनुभएको छैन ।

विगत ४३ वर्षदेखि भारी बोक्दै आउनुुभएका उहाँ १० वर्षदेखि गुल्मीमा बसेर काम गरिरहनुभएको छ । त्योभन्दा अगाडि आचार्य नेपालका १५ जिल्लामा कामको खोजीमा पुगिसक्नुभयो । उहाँले बोक्नुभएको राडीपाखीमा बाध्यतासँगै छोराछोरीको रहर पनि समेटिएकोे छ । त्यही रहर पूरा गर्न आचार्यले कहिल्यै फूर्सद पनि पाउनु भएन ।

आफ्ना छोराछोरीको रहरलाई लक्ष्यसम्म पु¥याउन पसिनै बगाएर सपना बुन्नेहरु बिरलै हुन्छन् । आचार्यको पनि एउटा सपना छोरा हेमन्तले इन्जिनियरिङ अध्ययन गरेर पूरा गर्नुभएको छ । अध्ययन सकेपछि उहाँले काठमाडौँमा काम गर्न पनि थाल्नुभएको छ । राडीपाखी बिक्री गरेकै भरमा छोरालाई इन्जिनियर बनाउनुभएका आचार्य अहिले खुसीले गद्गद हुनुहुन्छ । “छोराको रहरका लागि आफ्ना सपनालाई तिलाञ्जली दिएँ”, उहाँ भन्नुुहुन्छ, “राडीपाखी बेचेर छोरालाई इन्जिनियर बनाएँ, मेरा पनि सबै सपना पूरा भए ।” आचार्य मिहेनत र परिश्रम गरे कुनै सपना अधुरो नहुने बताउनहुन्छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका–२ मा बस्दै आउनुभएका उहाँ राडीपाखी बेच्न गुल्मीका गाउँगाउँ पुग्नुहुन्छ । प्राय मङ्सिर, पुस, माघ र फागुनमा तम्घासमा बसेपनि अघिपछि भेडाको ऊनबाट बनेका राडीपाखीसँगै आफैँले जुम्लामा खेती गरेर उब्जाएको धान, गेडागुडी, फलफूल उत्पादनका लागि जुम्लामै बसेर खेती किसानी गर्दै आउनुभएको छ । आफैँले बनाएका सामग्रीहरु बेच्दा वार्षिक रु पाँच लाखसम्मको कारोबार हुने र चार लाखसम्म बचाउने गरेको आचार्य जानकारी दिनुहुन्छ ।

गुल्मीमा ग्रामीण भेगमा समानहरु बिक्री गर्न पुग्दा जुम्लाका प्राङ्गारिक समान भनेर मन पराउने गरेको उहाँ बताउनुहुन्छ। जुम्लाबाट विसं २०५० मा नेपालगञ्जसम्म आउँदा पैदल आठ दिनसम्म हिँड्नुपरेको सुनाउनुहुने आचार्य अहिले गाडीमा तीन दिनमा गुल्मी आउन सकिने जानकारी दिनुहुन्छ । “आत्मनिर्भर बन्नका लागि मिहेनत र परिश्रम निरन्तर गरेँ”, उहाँ भन्नुहुन्छ, “अहिले छोरा पनि आफैँमा आत्मनिर्भर बन्दा खुसी लागेको छ ।” उहाँका कान्छा छोरा धिरन्दाले पनि बुटवलमा राडीपाखीका सामान बिक्री गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँ : वरिष्ठ नेता पौडेल   
पछिल्लो समाचार →
बक्सिङ खेलाडी सुष्माको प्रगतिमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त  

Leave a Comment

Your email address will not be published. Required fields are marked *