Latest News
Kathmandu

गुणस्तरीय कामका लागि ‘लौरी पालो’   

गुणस्तरीय कामका लागि ‘लौरी पालो’   

गाउँका विकास आयोजनाका कामहरू गुणस्तरहीन र समयावधि बढी लाग्ने स्थिति भएपछि पर्वतको कुश्मा नगरपालिका–८ चुवाका स्थानीयवासी जागरूक बन्न थालेका छन् ।

उपभोक्ता समितिमार्फत निर्माणाधीन सडक, स्वास्थ्य चौकी, नाली निर्माण लगायत योजनाको लौरी पालो लगाएर कामको उनीहरुले रेखदेख गर्ने गरेका छन् । नेपाली परम्परागत प्रचलनअनुसार कुनै कुराको संरक्षण तथा रेखदेखका लागि लौरो लिएर आलोपालो रेखदेख गर्नुलाई लौरी पालो भनिन्छ ।

स्थानीय उपभोक्ता लक्ष्मण पौडेलले स्थानीय राजनीतिक दल, समाजसेवी तथा प्रभावित उपभोक्ताको सहमतिमा लौरी पालो अभियान सञ्चालन गरिएको बताउनुभयो । “पूर्वाधार निर्माणका काममा निर्माण व्यवसायीले गुणस्तरहीन काम गर्ने हुँदा बनेका संरचनाहरू केही महिनामै प्रयोग विहीन हुने अवस्था र गुनासाहरू हामीले देख्दै र सुन्दै आएका हौँ”, उहाँले भन्नुभयो, “निर्माणको समयमा उपभोक्ताहरू जागरूक नहुँदा विकासका काम टिकाउ नभएको कुरालाई आत्मसात् गर्दै हामी पालो लगाएर कामको रेखदेख गर्ने गरेका छौँ ।”

स्थानीय राजनीतिक दल, समाजसेवी तथा प्रभावित उपभोक्ताहरूको सहमतिमा लौरी पालो अभियान सञ्चालन गरिएको स्थानीय दिनेश सुवेदीले बताउनुभयो । नाली निर्माणका काममा प्राविधिक नियमानुसार गिट्टी, बालुवा र सिमेन्टको मात्रा मिलाएर मजदुरलाई काममा लगाउने गरी उपभोक्ताहरूले अनुगमन गर्ने गरेका छन् ।

गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पर्वतमार्फत ३० लाखको लागतमा नाली निर्माण योजना सुरु भएका हो । दैनिक चारदेखि पाँचजना स्थानीय उपभोक्ताहरू निर्माण कार्यको अनुगमनमा खटिने गरेका छन् । उपभोक्ताहरूले सुरुदेखि नै लौरी पालो लगाएर कामको अनुगमन तथा रेखदेख गर्न थालेपछि निर्माण कार्य गुणस्तर भएको स्थानीयवासीको बुझाइ छ ।

पूर्वाधार विकास कार्यालयमार्फत काम भए पनि प्राविधिक रूपमा हुनुपर्ने अनुगमन नभएको स्थानीय कुलप्रसाद पोख्रेलले गुनासो गर्नुभयो । “यति ठूलो बजेटको काम भइरहँदा पूर्वाधार विकास कार्यालयबाट प्राविधिकसहित कामको परीक्षण भएको छैन”, उहाँले भन्नुभयो, “कामको गुणस्तर मापनका लागि उपभोक्ताले खबर गरेपछि मात्रै आउने गर्छन् ।”
–––

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बक्सिङ खेलाडी सुष्माको प्रगतिमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त  
पछिल्लो समाचार →
आगलागी पीडितलाई मन्त्रीको सहयोग  

Leave a Comment

Your email address will not be published. Required fields are marked *