मन्त्री श्रेष्ठले मंगलबार बिहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका हुन् । यातायात विभागका महानिर्देशक तुल्सी गौतमले सबै समस्याहरु वार्तामार्फत समाधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आन्दोलनरत मजदुरहरुलाई आग्रह गरिएको बताए ।
सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको छ ।
मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार विभागका महानिर्देशक गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मलित कार्यदल आइतबार नै गठन भएको छ । कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको छ ।
बालाजु क्षेत्रमा सोमबार भएको आन्दोलनपछि सार्वजनिक यातायात व्यवसायीहरू छलफलमा जुटेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले आफूहरू आगामी रणनीति तय गर्न छलफलमा जुटेको बताए ।
यातायात मजदुरले भोलिदेखि गाडी नचलाउने घोषणा गरेपछि यायायात व्यवसायी वार्तामा जुटेका हुन् । गाडी चलाउने वा नचलाउनेबारे भोलि मात्र थाहा हुने उनको भनाई छ ।
‘आज बिदा भयो । सरकारले कुनै निर्णय गरेको छैन । भोलि केही आउला । त्यसपछि मात्रै थाहा हुन्छ । आज बालाजुमा भएको आन्दोलन स्वस्फूर्त हो,’ उनले भने ।
ट्राफिक नियमविरुद्ध आन्दोलनरत यातायात मजदुरहरूले यसअघि फागुन ३ गते आन्दोलन घोषणा गरेका थिए । तर, आज नयाँ बसपार्कस्थित ल्होत्से बहुउद्देशीय प्रालिका अधिकारीहरूसँग विवाद भएपछि उनीहरू आजै आन्दोलनमा उत्रिएका हुन् ।
आज बालाजु–माछापोखरी सडकमा मजदुरको आन्दोलनले उग्ररूप लिँदा अस्थायी प्रहरी चौकी र दुई गाडी जलाइएको छ । त्यस्तै, प्रदर्शनकारीहरूले ल्होत्से मलमा पनि तोडफोड समेत गरेका छ्न ।

Leave a Comment