नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय, पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
माओवादीले राष्ट्रिय सहमतिमा जोड दिएको छ । ‘हाम्रो पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको छ । गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो’, उपाध्यक्ष कृष्णबहादुर महराले भने ।
पदाधिकारी बैठकले राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको हो । ‘गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो । यो कोसँग मिल्छ, हेर्दै जानुहोला’, महराले भने ।
यस्तै बैठकमा प्रचण्डले संसदमा देखिएको प्रतिनिधित्व र राजनीतिक दाउपेचले संसद् टिकाउन सकसपूर्ण देखिएको बताएका छन् । उनले यस्तो बेलामा समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने राष्ट्रपति आवश्यक हुने बताएका हुन् ।
सचिव दिनानाथ शर्माका अनुसार पार्टी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै प्रचण्डले अहिलेको सत्ता गठबन्धनलाई टिकाउन आफू लागिपर्ने प्रचण्डको धारणा रहेको छ ।
प्रचण्डले वर्तमान सत्ता गठबन्धनलाई टिकाउँदै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउनतर्फ लाग्ने बैठकमा धारणा राखेको शर्माको भनाइ छ ।
यस्तै, बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता, कांग्रेसका नेताहरुसँगको छलफललगायतका विषयमा पनि प्रचण्डले ब्रिफिङ गरेका थिए ।
कांग्रेसका नेताहरु आइतबार प्रचण्डसँग राष्ट्रपतिका बारेमा छलफल गर्न बालुवाटार पुगेका थिए । सो क्रममा उनीहरुले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा प्रचण्डले भने पार्टीमा छलफल गरेर निर्णय दिने जवाफ फर्काएका थिए ।
आजको बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा प्रचण्डको जोड दिएका छन् । बैठकले सोहीअनुसार सहमति जुटाउन जिम्मा प्रचण्डलाई सुम्पिने निर्णय समेत गरेको हो ।
बैठकमा प्रचण्डले देशमा पश्चगामी शक्तिहरू सलबलाएको भन्दै क्रान्तिकारी शक्तिहरू सजग हुनुपर्नेमा पनि जोड दिएका थिए ।
‘संसद् पाँच वर्ष जाने अवस्था छैन । विगतकै जस्तो विघटनको पुनरावृत्ति हुनसक्छ’, प्रचण्डको भनाइ थियो- ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर जानुको विकल्प छैन ।’
उनले राष्ट्रपतिमा माओवादी केन्द्रका उम्मेदवार भने नहुने स्पष्ट गरे । ‘उम्मेदवार हुने होइन । जुन पार्टीमा सहमति जुट्छ सोही अनुसार जाऔँ’ प्रचण्डले बैठकमा ब्रिफिङ गर्दै भनेका थिए । राष्ट्रपति निर्वाचनको लागि आगामी फागुन १३ गते मनोनयन दर्ताको समय रहेको सन्दर्भमा दलहरुको सक्रियता बढेको छ । एमाले र कांग्रेसले राष्ट्रपति पद आफ्नो पक्षमा पार्न जुट्दै गर्दा माओवादी भने राष्ट्रिय सहमतिको पक्षमा उभिएको छ ।
यस्तै, बैठकमा दुर्गा प्रसाईँ र ज्ञानेन्द्र शाहको सक्रियता प्रतिगमनसँग सम्बन्धित रहेको भन्दै सर्तक रहनुपर्नेमा माओवादी नेताहरुको जोड छ ।
माओवादीका एक नेताका अनुसार प्रतिगमनकारी शक्तिहरू सलबलाउन थालेकाले क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने विषयमा बैठकमा उठेको थियो ।
जनयुद्ध दिवसका दिन दुर्गा प्रसाईँले झापामा पूर्वराजासहित राजपरिवारका सदस्यलाई लगेर एक अभियान सञ्चालन गरेका थिए भने प्रजातन्त्र दिवसका दिन पूर्वराजाले दलहरुसँग सहकार्यको प्रस्तावसहित गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाएका थिए ।

Leave a Comment